Logo

६ वैशाख, वीरगञ्ज । पेट्रोलियम पदार्थको मूल्यमा भएको अस्वाभाविक वृद्धिको सिधै असर पर्साका किसानहरूमा परेको छ । डिजेलको मूल्य आकासिएसँगै खेतीपातीको लागत दोब्बरले बढेपछि यस वर्ष पर्साका धेरै किसानहरूले हर्दिनाथ–१ (चैते धान) को रोपाइँ नै नगर्ने निर्णय गरेका छन् । ब्याडमा बीउ तयार भइसक्दा पनि जोताइ र सिँचाइको खर्च धान्न नसक्ने भएपछि किसानहरू निराश बनेका हुन् ।

नेपाल आयल निगमले डिजेलको मूल्य प्रतिलिटर २३४ रुपैयाँ ५० पैसा पुर्‍याएपछि ट्याक्टरको जोताइ शुल्कमा भारी वृद्धि भएको छ । केही समयअघिसम्म प्रतिघण्टा १ हजार २०० रुपैयाँमा हुने फालीको जोताइ अहिले २ हजार पुगेको छ भने १ हजार ५०० मा हुने रोटाभेटरको शुल्क ३ हजार रुपैयाँ पुगेको छ । यसले गर्दा खेती सुरु गर्नुअघि नै किसानको लगानी निकै बढी हुने देखिएको छ ।

चैते धान खेतीका लागि पानीको उपलब्धता अनिवार्य हुन्छ । सुख्खा याममा लगाइने यो बालीलाई रोपाइँपछि कम्तीमा एक साता निरन्तर सिँचाइ चाहिन्छ । विद्युत् मोटर नभएका र डिजेलबाट चल्ने दमकलको भरमा सिँचाइ गर्ने किसानहरू अहिले सबैभन्दा बढी मर्कामा छन् । जिराभवानी गाउँपालिका–३ का किसान प्रेम चौधरीले भने, “बीउ त तयार छ, तर दमकल चलाएर सिँचाइ गर्दा लाग्ने डिजेलको खर्च र ट्याक्टरको जोताइ शुल्क सुन्दा रोपाइँ नै नगरौँ जस्तो लाग्यो । लागत मात्रै यति धेरै भएपछि पछि धान बेचेर के खानु ?”

किसानहरूको अर्को ठूलो चिन्ता भनेको उत्पादनको उचित मूल्य नपाउनु हो । हर्दिनाथ–१ जातको उत्पादन राम्रो भए पनि बजारमा यसको मूल्य सधैं न्यून हुने गरेको छ । गत वर्ष प्रतिक्विन्टल १ हजार ७०० रुपैयाँमा धान बेच्नुपरेको तीतो अनुभव किसानसँग छ।

एकातिर लगानी बढ्दै जाने र अर्कोतिर उत्पादनको मूल्य घट्दै जाने असन्तुलित चक्रका कारण मधेशका किसानहरू कृषि पेशाबाटै पलायन हुने खतरा बढेको छ । यसले भविष्यमा खाद्यान्न उत्पादनमा समेत गम्भीर संकट निम्त्याउने निश्चित देखिएको छ ।


सम्बन्धित समाचार