Logo

६ बैशाख, चितवन । समयको गतिसँगै मानिसका सम्बन्धहरू धुमिल हुँदै जान्छन् भनिन्छ, तर श्रद्धा र स्नेहको जगमा उभिएको गुरु–शिष्यको सम्बन्ध कहिल्यै पुरानो हुँदैन भन्ने एउटा जीवन्त उदाहरण चितवनमा देखिएको छ। जनजीवन माध्यमिक विद्यालयबाट २०५८ सालमा एसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूले झन्डै २५ वर्षपछि आफ्ना गुरुहरूलाई एकै ठाउँमा पाउँदा होटल पौवाको हलभित्र एउटा छुट्टै शिष्टाचार र सदाचारको अनुपम वातावरण छाएको थियो।

नववर्ष २०८३ को अवसरमा आयोजित यो मिलन समारोह केवल एउटा कार्यक्रम मात्र थिएन, यो त विगतको एउटा सुन्दर पाना पल्टिएको क्षण थियो। कपाल सेताम्मे भइसकेका गुरुहरू र जीवनका विभिन्न क्षेत्रमा सफल भइसकेका शिष्यहरू जब एकै ठाउँमा भेटिए, तब सबैको पद र प्रतिष्ठा बाहिरै रह्यो। हलभित्र कोही डाक्टर, कोही पाइलट वा कोही कर्मचारी थिएनन्, त्यहाँ त केवल आफ्ना गुरुका अगाडि टाउको निहुराएर आशीर्वाद थापिरहेका उही २५ वर्षअघिका साना विद्यार्थी मात्रै थिए।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा विद्यालयका पूर्व प्रधानाध्यापक सूर्यनाथ अधिकारी र पूर्व शिक्षकहरू दाताराम अधिकारी, शोभाखर गौतम, तिलकपुरी, गणेश सुवेदी, टेकनाथ काफ्ले र दिनेश पन्तलाई देख्दा विद्यार्थीहरूको अनुहारमा छुट्टै चमक देखिएको थियो। नमिना थपलिया र शिला केसी भण्डारीले गुरुहरूलाई खादा ओढाएर सम्मान प्रकट गर्दा हलमा उपस्थित सबैका आँखा रसाएका थिए।

गुरुका आँखामा खुसी, शिष्यको मनमा श्रद्धा

२५ वर्ष जस्तो लामो समय बितिसक्दा पनि आज फेरि एउटै कक्षामा बसेर विद्यार्थीलाई पढाइरहेको अनुभूति भइरहेको छ, गुरुहरूले मन्तव्यका क्रममा व्यक्त गरेको यो भावले सबैलाई भावुक बनायो। उता विद्यार्थीहरूले पनि पुनः कक्षाकोठामै बसेर पढिरहेको जस्तो अनुभूति सुनाए।

विशेषगरी शिला केसी भण्डारीले भावुक हुँदै भन्नुभयो, आज हामी फेरि विद्यार्थी बनेझैं महसुस गरिरहेका छौं। उहाँको यो वाक्यले गुरु र शिष्यबीचको अटुट नातालाई प्रष्ट पारेको थियो। कार्यक्रमका सभाध्यक्ष लोकराज सापकोटाले यसलाई जीवनकै एउटा अमूल्य अवसरका रूपमा व्याख्या गर्दै यस्ता भेटघाटले सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।

संस्कार र संस्कृतिको अनुपम दृश्य

शोभा भुसालको स्वागत मन्तव्यबाट सुरु भएको यो पुनर्मिलनले एउटा असल विद्यार्थीले आफूलाई दीक्षित बनाउने गुरुलाई कसरी सम्झनु पर्छ र सम्मान दिनुपर्छ भन्ने एउटा उदाहरणीय पाठ सिकाएको छ। औपचारिक कार्यक्रम सकिएपछि पनि खाजा, गीत(संगीत र नृत्यका बीच सहभागीहरू पुराना दिनहरूलाई पुनर्जीवित गरिरहेका थिए।

यो मिलनले केवल पुराना साथीहरूलाई मात्र जोडेन, यसले समाजमा हराउँदै गएको गुरुप्रतिको सम्मान र शिष्टाचारको संस्कृतिलाई पुनः ब्युँताउने काम गरेको छ। झन्डै तीन दशकअघि विद्यालयको प्राङ्गणबाट सुरु भएको त्यो सम्बन्ध आज पौवाको हलमा अझ गाढा र प्रगाढ बनेर टुङ्गिएको छ, जसले सहभागीहरूको मनमा जीवनभरका लागि एउटा अमूल्य याद छोडेर गएको छ।


सम्बन्धित समाचार