६ बैशाख, काठमाडौं । नेपाल आयल निगमले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धनको मूल्यबारे भइरहेको विश्लेषणप्रति आफ्नो धारणा स्पष्ट पारेको छ ।
निगमले कच्चा तेल (क्रुड आयल) को मूल्य घट्दैमा वा सोही अनुपातमा नेपालमा इन्धनको मूल्य नघटेको भन्दै हुने आलोचनालाई सम्बोधन गर्दै कच्चा तेलसँग मात्र तुलना गरेर भ्रममा नपर्न उपभोक्तालाई आग्रह गरेको छ । नेपालको आफ्नै रिफाइनरी नभएकाले कच्चा तेल नभई सोझै प्रशोधित पेट्रोलियम पदार्थ आयात गर्नुपर्ने बाध्यता रहेको र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र प्रशोधित इन्धनको मूल्यबीच ठुलो खाडल रहेको निगमको तर्क छ।
प्रशोधित इन्धनको मूल्य र अन्तर्राष्ट्रिय दबाब
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार नेपालले इन्डियन आयल कर्पोरेसनबाट प्रशोधित इन्धन खरिद गर्ने गर्दछ, जसको मूल्य निर्धारण अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको १५ दिनको औसत मूल्यका आधारमा हुन्छ ।
तथ्याङ्क प्रस्तुत गर्दै निगमले जनाएको छ कि ३ वैशाख २०८३ (१६ अप्रिल २०२६) मा कच्चा तेलको मूल्य प्रतिब्यारेल ९९.६ अमेरिकी डलर हुँदा पेट्रोलको मूल्य १३९।३ डलर र डिजेलको मूल्य २२८।१ डलर रहेको थियो ।
सामान्य अवस्थामा कच्चा तेल र इन्धनबीच १० देखि २० डलरको मात्र अन्तर हुने गरे पनि हालको जटिल अन्तर्राष्ट्रिय परिस्थितिका कारण यो अन्तर १४४ डलरदेखि २१६ डलरसम्म पुगेको छ । यसले गर्दा कच्चा तेलको मूल्य स्थिर देखिए पनि प्रशोधित इन्धन महँगो हुँदा नेपाल जस्ता आयातकर्ता मुलुकमा मूल्यवृद्धिको दबाब थपिएको छ ।
खुद्रा मूल्य निर्धारणका प्राविधिक पक्ष
इन्धनको अन्तिम खुद्रा मूल्य केवल खरिद मूल्यमा मात्र आधारित नभई विभिन्न प्रशासनिक र कानुनी खर्चहरूले समेत निर्धारण गर्ने निगमले प्रस्ट पारेको छ । खरिद गरिएको इन्धनमा लाग्ने भन्सार शुल्क, विभिन्न सरकारी कर, ढुवानी खर्च, बिमा, भण्डारण खर्च र बिक्रेताको सेवा शुल्कजस्ता पक्षहरूले गर्दा पनि देश अनुसार मूल्य फरक हुने गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा प्रशोधित इन्धनको मूल्यमा आएको अस्वाभाविक उतारचढाव र आन्तरिक लागतका कारण निगमले स्वचालित मूल्य प्रणालीमार्फत समायोजन गर्दा बाह्य विश्लेषण र वास्तविक लागतबीच भिन्नता देखिएको निगमको दाबी छ । उपभोक्तालाई सत्यतथ्य बुझ्न आग्रह गर्दै निगमले प्रशोधित तेलको अन्तर्राष्ट्रिय बजारलाई नै मुख्य आधार मान्नुपर्नेमा जोड दिएको छ ।

















