६ बैशाख, काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति सङ्घर्षले नयाँ मोड लिएको छ ।
पार्टीको केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विधानविपरीत कार्य गरेको ठहर गर्दै कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
केन्द्रीय सदस्य तारामान गुरुङको नेतृत्वमा रहेको समितिले खड्कालाई पार्टीको आधिकारिक लेटरप्याड अनधिकृत रूपमा प्रयोग गरी विज्ञप्ति जारी गरेको अभियोगमा सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । खड्काले आफू बहाल नरहेको पद ९कार्यवाहक सभापति० उल्लेख गरी वैशाख २ गते पुनः विज्ञप्ति जारी गरेपछि समितिले उनीविरुद्ध कडा कदम चालेको हो ।
यो विवादको सुरुवात चैत १४ गतेबाट भएको थियो, जब खड्काले कार्यवाहक सभापतिको हैसियतमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको पक्राउप्रति आपत्ति जनाउँदै विज्ञप्ति निकाल्नुभएको थियो । त्यसलगत्तै चैत १७ मा उनले केन्द्रीय कार्यसमितिको बैठक समेत बोलाएपछि अनुशासन समितिले १८ गते नै उनलाई सचेत गराएको थियो ।
तर, समितिको चेतावनीलाई चुनौती दिँदै खड्काले पुनः कार्यवाहक सभापतिकै हैसियतमा गतिविधि जारी राखेपछि अनुशासन समितिले विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम कारबाहीको तयारी थालेको हो ।
अनुशासन समितिका संयोजक तारामान गुरुङले खड्काले तोकिएको समयभित्र चित्तबुझ्दो स्पष्टीकरण नदिए विधानअनुसार कारबाहीलाई टुङ्गोमा पुर्याउने दृढता व्यक्त गर्नुभएको छ ।
यता खड्काले भने समितिको यो निर्णयलाई ‘निरर्थक र हास्यास्पद’ भन्दै टिप्पणी गर्नुभएको छ । पार्टीको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा सुरु भएको यो कारबाही प्रक्रियाले कांग्रेसभित्र संस्थापन र इतर समूहबीचको दूरीलाई अझ बढाउने संकेत गरेको छ । समितिले भने अदालतको फैसला जे आए पनि विधान मिच्नेमाथिको कारबाही नरोकिने प्रष्ट पारेको छ ।

















