Logo

६ बैशाख, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएपछि निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष रक्षात्मक अवस्थामा पुगेको छ ।

पार्टीको आधिकारिकता र नेतृत्वको बागडोर युवा पुस्ताको हातमा पुगेसँगै आफ्नो राजनीतिक भविष्य र पार्टीभित्रको उपस्थितिलाई सुरक्षित गर्न देउवा समूहले आन्तरिक छलफललाई तीव्र बनाएको छ । यसै सिलसिलामा आज काठमाडौँको धुम्बाराहीस्थित स्मार्ट प्यालेसमा देउवा पक्षका पूर्व केन्द्रीय सदस्यहरूको बृहत् भेला आयोजना गरिएको छ, जहाँ आगामी दिनमा पार्टीभित्र कसरी प्रस्तुत हुने र कुन रणनीति अपनाउने भन्ने विषयमा सघन मन्थन भइरहेको छ ।

विशेष महाधिवेशनपछि रक्षात्मक बनेको यो समूहका प्रभावशाली नेता पूर्णबहादुर खड्काले पछिल्ला दिनहरूमा लगातार विभिन्न तहमा छलफल चलाउँदै आउनुभएको छ । आजको भेलाअघि शनिबार खड्काले आफ्नै निवासमा तत्कालीन पदाधिकारीहरूसँग विशेष संवाद गर्नुभएको थियो ।

उक्त छलफलले सर्वोच्च अदालतको पछिल्लो निर्णयप्रति वैचारिक असहमति रहे पनि त्यसलाई कानुनी रूपमा स्वीकार गर्ने निष्कर्ष निकालेको थियो। अदालतको फैसला र विशेष महाधिवेशनको परिणामपछि उत्पन्न राजनीतिक परिस्थितिलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा यो समूह अहिले गम्भीर देखिएको छ ।

आजको भेलामा पूर्णबहादुर खड्कासँगै कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, र प्रकाशमान सिंह लगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको छ । भेलामा सहभागी नेताहरूका अनुसार पार्टीको नयाँ नेतृत्वसँगको सहकार्य वा सङ्घर्षको स्वरूप कस्तो हुने र आगामी दिनमा आफ्नो समूहलाई कसरी एकताबद्ध राख्ने भन्नेबारे साझा धारणा बनाउन यो भेला केन्द्रित छ ।

देउवा समूहले आगामी रणनीति तय गर्दा विशेष महाधिवेशन पछिको बदलिएको समीकरण र कार्यकर्ताको मनोविज्ञानलाई समेत ध्यानमा राखेर नयाँ कार्ययोजना सार्वजनिक गर्ने तयारी गरेको बुझिएको छ ।


सम्बन्धित समाचार