Logo

६ बैशाख, काठमाडौँ । उज्वल भविष्यको सपना बुनेर पाँच वर्षअघि अमेरिका पुगेकी एक नेपाली युवती प्रमिला त्रिपाठी भुर्तेलले आत्महत्या गरेकी छिन् ।

नफ्रान्सिस्कोमा बसोबास गर्दै आएकी प्रमिला मृत अवस्थामा फेला परेको पुष्टि गैरआवासीय नेपाली संघ (एनआरएनए) , क्यालिफोर्निया शाखाले गरेको छ। उच्च शिक्षाका लागि संयुक्त राज्य अमेरिका पुगेकी उनले जीवनको उत्तरार्धमा निकै ठूलो सङ्घर्ष गर्नुपरेको र अन्ततः सानफ्रान्सिस्कोको बसाइमै आफ्नो प्राण त्यागेको खबरले क्यालिफोर्नियास्थित नेपाली समुदायलाई स्तब्ध बनाएको छ ।

प्रमिलाको मृत्युको कारणका रूपमा आर्थिक अभाव र मानसिक तनावलाई प्रमुख मानिएको छ । नेपालमा प्लस टु सकेर उच्च शिक्षाका लागि अमेरिका पुगेकी उनले विश्वविद्यालयको अध्ययन पूरा गर्न नसकेपछि केही समयदेखि मानसिक समस्या भोगिरहेकी थिइन् ।

एभरेष्ट बिजनेस रोडम्यापका सीईओ युवराज कार्कीका अनुसार विदेशमा विद्यार्थीले भोग्नुपर्ने एक्लोपन र शैक्षिक लक्ष्य पूरा नहुँदा उत्पन्न हुने दबाबले यस्तो अप्रिय मोड लिएको देखिन्छ । प्रमिलाले एक शिशुलाई एक्लै हुर्काइरहेकी थिइन् भने उनका पतिको अवस्थाका बारेमा अहिलेसम्म कुनै आधिकारिक जानकारी प्राप्त हुन सकेको छैन ।

अहिले क्यालिफोर्नियाको नेपाली समुदाय प्रमिलाको अन्त्येष्टि र उनको टुहुरो शिशुको भविष्यलाई लिएर निकै चिन्तित छ । एनआरएनए क्यालिफोर्नियाले प्रमिलाको अन्त्येष्टि, शिशुको पालनपोषण र नेपालमा रहेको परिवारलाई तत्काल आर्थिक सहयोग पुर्‍याउने उद्देश्यले ‘गोफन्डमी’ मार्फत चन्दा संकलन अभियान सुरु गरेको छ ।

सानफ्रान्सिस्कोस्थित नेपाली महावाणिज्यदूतावाससँग सम्पर्कको प्रयास भइरहे पनि उनको नेपालको स्थायी ठेगाना खुल्न बाँकी छ । यस घटनाले नेपाली अभिभावकहरूलाई आफ्ना छोराछोरी विदेश पठाउँदा उनीहरूको मानसिक स्वास्थ्य र त्यहाँको धरातलीय यथार्थबारे सचेत रहन फेरि एकपटक झकझकाएको छ ।


सम्बन्धित समाचार