६ वैशाख,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले महानगरभित्र रहेका सामुदायिक तथा निजी विद्यालयहरूलाई नयाँ शैक्षिक सत्र २०८३/०८४ का लागि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न निर्देशन दिएको छ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले आइतबार सूचना जारी गर्दै वैशाख ७ गतेदेखि वैशाख १५ गतेसम्म भर्ना अभियान सञ्चालन गर्न सबै विद्यालयलाई आग्रह गरेको हो।
महाशाखाका अनुसार सोही अवधिभित्र विद्यार्थी अभिलेखीकरण, वार्षिक कार्यतालिका तथा वार्षिक कार्ययोजना निर्माण, शिक्षक क्षमता विकास कार्यक्रम सञ्चालन तथा विद्यालय सुधार योजना तयार पार्न पनि निर्देशन दिइएको छ।
महाशाखा प्रमुख आनन्द लामिछानेका अनुसार वैशाख १६ गतेदेखि भने महानगरका सबै विद्यालयहरूमा नियमित पठनपाठन सुरु गरिनेछ।
महानगरपालिकाले तोकिएको समयसीमाभित्र सबै तयारी पूरा गरी नयाँ शैक्षिक सत्रलाई व्यवस्थित रूपमा सञ्चालन गर्न विद्यालयहरूलाई आग्रह गरेको छ।