६ वैशाख,वीरगञ्ज । नेपाल पत्रकार महासंघ पर्सा शाखाले पत्रकार आचारसंहिता उल्लंघन गर्ने पत्रकार तथा सञ्चारगृहहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ।
आइतबार जारी गरिएको प्रेस विज्ञप्तिमार्फत महासंघले पर्सा जिल्लाबाट सञ्चालन भइरहेका केही सञ्चारमाध्यम र पत्रकारहरूले समाचार सम्प्रेषणका क्रममा आचारसंहिताका आधारभूत मान्यतासमेत बेवास्ता गरिरहेकोप्रति गम्भीर चिन्ता व्यक्त गरेको हो।
महासंघका अनुसार केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल (फेसबुक, युट्युब) मार्फत सञ्चालित प्लेटफर्महरूले संवेदनशील विषय—जस्तै सामाजिक सद्भाव, जबरजस्ती करणी तथा व्यक्तिगत गोपनीयता—सम्बन्धी समाचार प्रस्तुत गर्दा गैरजिम्मेवार ढंगले सामग्री प्रसारण गर्दै आएका छन्, जसले आचारसंहिताको स्पष्ट उल्लंघन गरेको देखिन्छ।
त्यस्तै, समाचार संकलन र प्रसारणका क्रममा न्यूनतम मर्यादा र शिष्टताको ख्याल नगरी अभद्र व्यवहारसमेत देखिएको भन्दै महासंघले यस्तो गतिविधिले समग्र सञ्चार क्षेत्रको विश्वसनीयतामाथि प्रश्न उठाएको जनाएको छ।
महासंघले यसअघि पनि सम्बन्धित सञ्चारगृह र पत्रकारहरूलाई पटक–पटक सचेत गराए पनि सुधार नआएको उल्लेख गर्दै तत्काल यस्ता गतिविधि रोक्न आग्रह गरेको छ।
साथै, पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवार पत्रकारिता गर्न सबैलाई अपिल गरिएको छ। यदि भविष्यमा पनि आचारसंहिताविपरीत समाचार सम्प्रेषण भएको पाइएमा त्यसबाट उत्पन्न हुने अवस्थाको जिम्मेवारी सम्बन्धित पक्षले नै वहन गर्नुपर्ने र आवश्यक परे महासंघ आफैंले कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ।


















