६ बैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो साङ्गठनिक संरचनालाई पूर्णता दिने उद्देश्यका साथ आगामी वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको पार्टीको सचिवालय बैठकले देशभरका जिल्लाहरूमा अधिवेशनको प्रक्रिया अगाडि बढाउने गरी मिति तय गरेको हो । पार्टी प्रवक्ता मनिष झाका अनुसार, सचिवालयले गरेको यो निर्णयलाई भोलि बस्ने केन्द्रीय समितिको बैठकमा अनुमोदनका लागि प्रस्तुत गरिने कार्यसूची रहेको छ ।
निर्वाचनका कारण केही समय रोकिएको वडा र पालिका तहको अधिवेशनलाई समेत वैशाख २ गतेदेखि पुनः तीव्रता दिइएको सन्दर्भमा यो निर्णय सार्वजनिक भएको हो ।
पार्टीको महाधिवेशनको मार्गचित्र स्पष्ट पार्दै रास्वपाले आगामी असोज महिनामा केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । महामन्त्री मुकुल ढकालका अनुसार वैशाख र जेठ महिनाभित्र वडा अधिवेशनहरू सम्पन्न गर्ने, असार र साउनमा पालिका तथा जिल्ला अधिवेशनहरू गर्ने र भदौमा प्रदेश अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
हालसम्म ४५२ वटा वडा र ६२ वटा पालिकाको अधिवेशन सफलतापूर्वक सम्पन्न भइसकेको छ भने बाँकी रहेका ७ हजार ६४३ वडाहरू र ७५३ पालिकाहरूमा तदर्थ समिति तथा वडा परिषद् गठन गर्ने कार्य वैशाख महिनाभरमा सक्ने पार्टीको तयारी छ ।
यसअघि २०८० मंसिरदेखि सुरु भएको वडा अधिवेशनको प्रक्रिया गत माघको अन्तिम साताबाट निर्वाचनलाई लक्षित गरी स्थगित गरिएको थियो । अहिले पार्टीले वडा तहदेखि नै आफ्नो आधार बलियो बनाउन ‘संगठन निर्माण अभियान’ लाई विशेष प्राथमिकता दिएको छ ।
जहाँ अधिवेशन हुन बाँकी छ, त्यहाँ तत्कालका लागि तदर्थ समितिहरू गठन गरेर भए पनि साङ्गठनिक गतिशीलता कायम राख्ने रणनीति रास्वपाले लिएको छ । भोलिको केन्द्रीय समिति बैठकले यी साङ्गठनिक एजेन्डाहरूलाई अन्तिम रूप दिएपछि पार्टी पूर्ण रूपमा महाधिवेशनको तयारीमा होमिने देखिएको छ ।

















