६ वैशाख, (माडी) चितवन । चितवन राष्ट्रिय निकुञ्ज भित्र पर्ने कसरा चेकपोष्टमा सार्वजनिक शौचालय प्रयोग गरेवापत लिइँदै आएको चर्को शुल्कमा अन्ततः ५० प्रतिशत कटौती गरिएको छ। यसअघि प्रतिव्यक्ति १० रुपैयाँ असुल गरिँदै आएकोमा आइतबारदेखि लागू हुने गरी ५ रुपैयाँ कायम गरिएको हो।
कसरामा बिना रसिद पैसा उठाउने गरिएको र संकलित रकमको हिसाब पारदर्शी नभएको विषयलाई केन्द्रमा राखेर रेस खबर डटकमले समाचार प्रकाशन गरेपछि निकुञ्ज प्रशासनमाथि नैतिक दबाब परेको थियो। वैशाख २ गते समाचार सार्वजनिक भएसँगै सर्वसाधारण र सरोकारवाला निकायले निकुञ्जको उक्त कार्यको तीव्र आलोचना गरेका थिए।
समाचारको प्रभावस्वरुप वैशाख ५ गते माडीमा आयोजित एक कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख डा. गणेश पन्तले शौचालय शुल्क घटाएर ५ रुपैयाँ कायम गरिएको घोषणा गर्नुभएको हो। निकुञ्ज प्रशासनले पहिले १० रुपैयाँ शुल्क लिने गरेको स्वीकार गर्दै अब सरसफाइ र सामग्री खर्चका लागि मात्र ५ रुपैयाँ उठाउने व्यवस्था मिलाइएको जनाएको छ।
यसअघि शौचालय व्यवस्थापनबारे अनभिज्ञता प्रकट गर्ने अधिकारीहरूले अहिले निकुञ्जकै व्यवस्थापनमा कर्मचारी राखिएको दाबी गर्नुलाई स्थानीयले आफू बच्ने प्रयासको रूपमा लिएका छन्। एउटै निकुञ्जभित्रका अन्य ठाउँमा निःशुल्क शौचालय सेवा उपलब्ध हुँदा कसरामा मात्रै शुल्क लिनु न्यायोचित नभएको माडीबासीको ठहर छ।
पटक–पटक निकुञ्जको सास्ती भोग्दै आएका माडीबासी र यात्रुहरूले सामान्य शौच जस्तो आधारभूत सेवामा पैसा लिनु नै गलत भएको बताएका छन्। रेस खबरले उठाएको समाचारका कारण तत्कालका लागि शुल्क घटे पनि यसलाई पूर्ण रुपमा हटाउने कुरामा प्रशासन अझै सहमत हुन नसकेको देखिन्छ ।

















