६ बैशाख, (माडी) चितवन । माडी नगरपालिकाले अति सीमान्तकृत चेपाङ समुदायको जीवनस्तर सुधार र सुरक्षित बसोबासका लागि एकीकृत बस्ती निर्माणको योजनालाई तीव्रता दिएको छ। नगरपालिकाले माडी–७, देबेन्द्रपुरस्थित परुई नदी किनारमा कष्टकर जीवन बिताइरहेका ३९ परिवार चेपाङका लागि नयाँ घर निर्माण गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढाएको हो।
बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन कार्यालयमार्फत सञ्चालित एकीकृत बस्ती आवास कार्यक्रमले विशेषगरी चेपाङ, वनकरिया, माझी र बोटे समुदायलाई लक्षित गरेको छ। यस कार्यक्रमअन्तर्गत माडी नगरपालिकाका लागि ३९ वटा घर निर्माण गर्न आवश्यक बजेट विनियोजन भइसकेको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसालका अनुसार वडा नं. ७ मा गरिएको प्रारम्भिक सर्वेक्षण र लाभग्राही छनोटका आधारमा तयार पारिएको सूचीलाई आवश्यक प्रक्रिया पूरा गरी प्रदेश मन्त्रालयमा सिफारिस गर्ने निर्णय भइसकेको छ। यसअघि प्रदेश सरकारको मन्त्रीस्तरीय निर्णयले चितवन जिल्लाभर कुल १०० वटा घर निर्माण गर्ने योजना स्वीकृत गरेको थियो, जसमा माडी नगरपालिकाको भागमा ३९ वटा घर परेको प्रदेश सांसद ठाकुर प्रसाद ढकालले जानकारी दिनुभयो।
परुई नदी किनारमा बर्खायाममा बाढी र कटानको उच्च जोखिममा रहेका ती परिवारका लागि प्रतिघर करिब ४ लाख रुपैयाँको लागतमा आवास निर्माण हुने प्रारम्भिक अनुमान छ। यो एकीकृत बस्ती निर्माण भएपछि वर्षौँदेखि अस्थायी र असुरक्षित टहरामा बस्दै आएका चेपाङ समुदायले व्यवस्थित र स्थायी ओत पाउने अपेक्षा गरिएको छ।
यस कार्यक्रमले सीमान्तकृत समुदायको आवासको अधिकार सुनिश्चित मात्र नगरी उनीहरूको सामाजिक सुरक्षा र आत्मसम्मानमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।

















