८ वैशाख, काठमाडौँ । आफ्नो सेयर लगानीको स्रोतलाई लिएर उठेका प्रश्नहरूको घेराबाट गृहमन्त्री सुधन गुरूङ बाहिर निस्कन सकेका छैनन् । सोमबार एक स्पष्टीकरणमार्फत उनले आफूमाथिको आरोप खण्डन गर्ने प्रयास गरे पनि, उक्त विवरणले थप नयाँ प्रश्नहरू जन्माएको छ ।
सेयर लगानी र त्यसको स्रोतका विषयमा उनीबाट आएका तथ्यहरूले उनको सम्पत्ति विवरणमा उल्लेखित विवरणहरूसँग मेल नखाएपछि सुशासन र पारदर्शिताको विषय अहिले पेचिलो बनेको छ ।
गृहमन्त्री गुरूङको स्पष्टीकरणले सम्बोधन गर्न नसकेका मुख्य ५ प्रश्नहरू यस्ता छन् :
१. स्रोतको गुत्थी: ऋण कि आन्तरिक लगानी ?
गृहमन्त्रीले स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरेको लगानी ‘ऋण लिएर’ गरेको दाबी गरेका छन्। तर, प्रश्न ती दुई कम्पनीको मात्र होइन, उनको ४ करोड ३१ लाख ५६ हजार रूपैयाँ बराबरको समग्र सेयर लगानीको हो ।
उनले सम्पत्ति विवरणमा यी सबै सेयर लगानीको स्रोत ‘व्यवसाय, पैतृक सम्पत्ति वा लगानी’ भनेर खुलाएका छन्। यदि सबै सेयर ऋण लिएरै किनेको हो भने, किन सम्पत्ति विवरणमा ऋणको स्रोत नखुल्याएको? साथै, दोस्रो बजारबाट किनेको ५३ लाखको सेयर र अन्य संस्थापक सेयरको स्रोतबारे उनी अझै मौन छन्।
२. सम्पत्ति विवरणमा ‘झूटो’ विवरण ?
सम्पत्ति विवरण फारममा ‘ऋण लिए/दिए/तिरेको’ स्पष्ट उल्लेख गर्नुपर्ने ठाउँ छ। अन्य मन्त्रीहरूले सवारी साधन खरिद गर्दा लिएको सामान्य ऋणसमेत सो ठाउँमा भरेका छन् । तर, गृहमन्त्री गुरूङले उक्त कोलम खाली छाडेर आफ्नो कुनै ऋण दायित्व नभएको सन्देश दिएका थिए । अहिले ‘ऋण लिएर सेयर किनेको’ बताउनुले उनले सरकारी कागजातमा जानीजानी विवरण लुकाएको वा ढाँटेको हो भन्ने प्रश्न गम्भीर बनेको छ।
३. साधारण सेयर कि संस्थापक?
गुरूङले आफ्नो सम्पत्ति विवरणमा अधिकांश सेयर ‘साधारण’ प्रकृतिको भनी उल्लेख गरेका छन्। तर, उनको लगानी विवरण केलाउँदा ती अधिकांश सेयर ‘संस्थापक’ हुन्। साधारण सेयर र संस्थापक सेयरको कानुनी र आर्थिक हैसियत फरक हुन्छ। किन उनले आफ्नो विवरणमा सेयरको वास्तविक प्रकृति लुकाए भन्ने प्रश्नले उनको पारदर्शितामाथि थप शंका जन्माएको छ।
४. अचानक सेयर खेलाडी: के यो सोझो लगानी हो?
२०८२ माघसम्म दोस्रो बजारमा सेयर कारोबार नगरेका गुरूङले त्यसपछि हठात् ठूलो परिमाणमा सेयर खरिद गरेको देखिन्छ। उनले एकै दिन ७ वटासम्म कारोबार गरेको तथ्यांकले उनी सेयर बजारका जानकार नभएको संकेत गर्छ । के उनले दोस्रो बजारबाट किनेको ५३ लाखको सेयर पनि ऋणकै भरमा किनेका हुन्? लगानीकर्ताको पृष्ठभूमि र कारोबारको शैलीबीचको यो असंगतिले थप शंका उब्जाएको छ।
५. दीपक भट्टसँगको ‘व्यावसायिक साइनो’मा मौनता
गृहमन्त्रीको स्पष्टीकरणको सबैभन्दा कमजोर पाटो सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टसँगको सम्बन्ध हो। भट्टको प्रभावमा स्थापना भएका कम्पनीमा गृहमन्त्रीको संस्थापक सेयर हुनु सामान्य व्यावसायिक सम्बन्ध मात्र होइन ।
भट्टसँगको यो गहिरो व्यावसायिक साझेदारीबारे उनले एक शब्द पनि खर्चिएका छैनन्, जसले गर्दा यो लगानी ‘सेयर खरिद’ मात्र हो वा ‘अवैध लाभको हिस्सा’, भन्ने प्रश्न अनुत्तरित छ ।
रास्वपाको ‘मौनता’ र अनुशासनको दोहोरो मापदण्ड
यस प्रकरणले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक अभ्यासमा पनि प्रश्न उठाएको छ। केही समयअघि मात्र पूर्वश्रममन्त्री दीपककुमार साहलाई पदीय दुरुपयोगको आरोपमा कारबाही सिफारिस गर्ने रास्वपा, आफ्नै गृहमन्त्रीका हकमा भने मौन देखिएको छ।
पार्टी बैठकमा समेत यो विषयले औपचारिक प्रवेश नपाउनु र प्रवक्ताले व्यक्तिगत टिप्पणी भन्दै पन्छिनुले ‘सुशासनको नारा’ दिने दलको विश्वसनीयतामाथि प्रश्नचिह्न खडा भएको छ ।
सेयर लगानी गर्नु आफैँमा अपराध होइन, तर गृहमन्त्रीजस्तो सार्वजनिक पदमा बसेको व्यक्तिले लगानीको स्रोत प्रस्ट पार्न नसक्नु र विवरणमा ढाँट्नु भनेको नैतिक र कानुनी प्रश्नको विषय हो । यो स्पष्टीकरणले थप प्रश्न खडा गरेपछि, अब आम नागरिकको नजर गृहमन्त्रीको जवाफदेहिता र रास्वपाको ‘स्वच्छ छवि’ को दाबीमा अडिएको छ ।

















