२४ जेठ, काठमाडौँ । नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस. जयशङ्करबीच शनिबार भारतको राजधानी नयाँ दिल्लीमा उच्चस्तरीय वार्ता सम्पन्न भएको छ ।
नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका अनुसार दुई देशबीचको कूटनीतिक तथा आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यका साथ आयोजना गरिएको यस वार्तामा व्यापार, आर्थिक सहकार्य, सीमापार सम्पर्क सञ्जाल (कनेक्टिभिटी), ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा विस्तृत र गहन छलफल भएको छ।
राजदूतावासले जारी गरेको प्रेस विज्ञप्तिअनुसार दुवै देशका मन्त्रीले नेपाल–भारत सम्बन्धको समग्र अवस्थाबारे समीक्षा गर्दै दुई देशबीचको दीर्घकालीन साझेदारीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । वार्ताका क्रममा व्यापार र पूर्वाधार मात्र नभई खेलकुदमार्फत जनस्तरको सम्बन्धलाई अझ प्रवर्द्धन गर्ने नवीन विषयमा समेत छलफल भएको थियो ।
भेटवार्ताका क्रममा दुई देशबीच हाल सञ्चालनमा रहेका विभिन्न द्विपक्षीय परियोजना तथा सहकार्य कार्यक्रमहरूको प्रगतिको विस्तृत समीक्षा गरिएको छ । सीमा क्षेत्रमा सञ्चालित परियोजनाहरूको कार्यान्वयनलाई थप तीव्रता दिने उपायबारे दुवै पक्षबीच सकारात्मक विचार आदानप्रदान हुनुका साथै आपसी हितका क्षेत्रीय, अन्तर्राष्ट्रिय सरोकार र बहुपक्षीय मञ्चहरूमा द्विपक्षीय सहकार्यलाई अझ प्रभावकारी बनाउने सहमति भएको छ ।
वार्तापछि दुवै पक्षले विकास साझेदारी, पूर्वाधार विकास तथा सम्पर्क सञ्जाल विस्तारका क्षेत्रमा सहकार्यलाई अझ गहिरो तथा फराकिलो बनाउने ऐतिहासिक निर्णय गरेका छन्। यस कूटनीतिक संवादका क्रममा नेपाल–भारत सम्बन्धलाई नयाँ आयाम दिने गरी तीन वटा महत्त्वपूर्ण संयुक्त घोषणा समेत गरिएको छ।
घोषणाअनुसार पहिलो बुँदामा नेपाल र भारतबीच व्यक्ति–व्यक्तिबीच (पीटूपी) हुने सीमापार डिजिटल भुक्तानी प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ। सन् २०२३ को जुन महिनामा नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको नेसनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डियाबीच भएको समझदारीपत्रकै आधारमा यो व्यवस्था कार्यान्वयनमा आएको हो, जसले दुई देशबीचको डिजिटल बैंकिङ कारोबारलाई थप सहज, छिटो र औपचारिक बनाउनेछ। दोस्रो घोषणा अन्तर्गत, भारत सरकारको विकास सहयोगमा नेपालमा निर्माण गरिएका ८४ वटा भूकम्पपछिका पुनर्निर्माण परियोजनाहरू औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। यसमा ७२ वटा स्वास्थ्य क्षेत्रका र १२ वटा सांस्कृतिक क्षेत्रका परियोजनाहरू समावेश छन्, जसको हस्तान्तरणसँगै नेपालको स्वास्थ्य सेवा तथा सांस्कृतिक सम्पदाको पुनःस्थापनामा भारतको सहयोगले औपचारिक पूर्णता पाएको छ।
यसै गरी, तेस्रो महत्त्वपूर्ण घोषणा अन्तर्गत आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र भाषा रूपान्तरण प्रविधिमा सहकार्य गर्ने ऐतिहासिक सहमति भएको छ। यसका लागि काठमाडौँ विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङ अन्तर्गतको ‘सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर एण्ड आर्टिफिसियल इन्टेलिजेन्स’ र भारतको ‘डिजिटल इन्डिया भाषिणी डिभिजन’ बीच समझदारीपत्र (एमओयू) आदानप्रदान गरिएको छ ।
यो सहकार्यले ‘भ्वाइस फर्स्ट’ नामक अत्याधुनिक भाषा अनुवाद गर्ने प्लेटफर्म र राष्ट्रिय डिजिटल पूर्वाधार विकास गरी नेपाली भाषासहित विभिन्न भाषाहरूमा एआईमा आधारित अनुवाद प्रणाली विकास गर्न बलियो सहयोग पुर्याउनेछ । भारतका विदेशमन्त्री जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा गत शुक्रबार नयाँ दिल्ली प्रस्थान गर्नुभएका परराष्ट्रमन्त्री खनाल आफ्ना महत्त्वपूर्ण राजनीतिक तथा कूटनीतिक कार्यसूचाहरू पूरा गरी आज आइतबार काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।


















