८ वैशाख, हेटौँडा । महेन्द्र राजमार्गको पथलैया–चुरियामाई सडक खण्डमा भएको अतिक्रमण हटाउन सडक डिभिजन कार्यालय हेटौँडाले कडा कदम चालेको छ। लामो समयदेखि सडक सीमाभित्र बनेका अनधिकृत संरचना हटाउन अटेर गरिएपछि डिभिजन कार्यालयले आगामी वैशाख १० गतेसम्मको अन्तिम समयसीमा (अल्टिमेटम) दिएको हो ।
डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले सोमबार (वैशाख ७ गते) एक सार्वजनिक सूचना जारी गर्दै राजमार्गको ३ नम्बर पुलदेखि चुरियामाई मन्दिर क्षेत्रसम्म सडकको केन्द्रविन्दुबाट दायाँ–बायाँ २५/२५ मिटरभित्र रहेका सम्पूर्ण घर–टहरा हटाउन निर्देशन दिनुभएको छ । सडक विभागको पूर्वस्वीकृति विना सार्वजनिक सडक र सडक सीमा अतिक्रमण गरी निर्माण गरिएका ती संरचनाहरू ३ दिनभित्र सम्बन्धित धनी आफैँले नहटाए कार्यालयले हटाउने चेतावनी दिइएको छ ।

सडक डिभिजन कार्यालयका अनुसार यो क्षेत्रको अतिक्रमण हटाउन यसअघि २०७३ मंसिर १८ र २०८० असार ९ गते लगायतका विभिन्न मितिमा पटक–पटक सूचना जारी गरिएको थियो । तर, स्थानीय र व्यवसायीहरूले सरकारी आदेशको अवज्ञा गर्दै आएका थिए । यसपटक सडक विस्तार र मर्मत कार्यमा ती संरचनाहरू बाधक बनेको भन्दै कार्यालयले ‘अन्तिम चेतावनी’ का रूपमा ३ दिने अल्टिमेटम दिएको हो ।
सडक डिभिजनले सूचनाको अवज्ञा गरी तोकिएको समयभित्र संरचना नहटाएमा सार्वजनिक सडक ऐन, २०३१ तथा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने जनाएको छ। सडक सुरक्षा र सहरी व्यवस्थापनका लागि राजमार्ग क्षेत्रका संरचना हटाउनु अनिवार्य रहेको भन्दै प्रशासनले यस कार्यमा सहयोग गर्न सरोकारवालाहरूलाई आग्रह समेत गरेको छ।
पछिल्लो समय वीरगञ्ज लगायतका क्षेत्रमा सडक अतिक्रमण हटाउने कार्यले तीव्रता पाइरहेका बेला हेटौँडा–पथलैया खण्डमा पनि डोजर चल्ने सम्भावना बढेको छ। अबको तीन दिनभित्र संरचना नहटेमा कार्यालय आफैँले बल प्रयोग गरेर अतिक्रमण हटाउने तयारी गरेको छ।

















