९ वैशाख, काठमाडौँ । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातका रूपमा सञ्चालित विद्युतीय सवारीसाधनको भाडा वृद्धि नभएको स्पष्ट पारेको छ। विभागले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण हालै गरेको भाडा समायोजन डिजेल इन्जिन भएका सवारीसाधनमा मात्र लागू हुने जनाउँदै विद्युतीय गाडीको भाडा यथावत् रहेको प्रस्ट्याएको हो ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि विभागले यही चैत २५ गतेदेखि स्वचालित भाडा समायोजन प्रणालीअनुसार डिजेलबाट चल्ने सार्वजनिक सवारीसाधनको भाडा बढाएको थियो। तर, सोही मौका छोपेर केही विद्युतीय गाडी सञ्चालकले समेत बढेको भाडा लिइरहेको र यात्रुलाई अनिवार्य रूपमा दिनुपर्ने टिकट समेत नदिएको गुनासो बढेपछि विभागले यस्तो चेतावनी दिएको हो ।
विभागका अनुसार, विद्युतीय सवारीसाधनहरूले इन्धनका रूपमा डिजेल वा पेट्रोल प्रयोग नगर्ने भएकाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको आधारमा उनीहरूको भाडा समायोजन गर्ने प्रावधान छैन। “विद्युतीय सवारीसाधन डिजेल इन्जिनयुक्त गाडी होइनन्, त्यसैले मूल्यवृद्धि यिनीहरूमा लागू हुँदैन,” विभागका एक अधिकारीले भने।
विभागले विद्युतीय सवारीसाधनमा पुरानै भाडादर कायम रहेको स्मरण गराउँदै तोकिएको भन्दा बढी भाडा असुल गर्ने र टिकट नदिने सञ्चालकलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको छ।
विभागले आम यात्रुहरूलाई पनि सचेत रहन आग्रह गरेको छ। तोकिएको भाडादरभन्दा बढी रकम नतिर्न र यात्रा गर्दा अनिवार्य रूपमा टिकट मागेर मात्रै भुक्तानी गर्न यात्रुहरूलाई विभागको आग्रह छ। नियम विपरीत बढी भाडा लिने सवारीसाधन भेटिए तत्काल नजिकको प्रहरी वा यातायात कार्यालयमा जानकारी गराउन समेत विभागले सूचित गरेको छ ।

















