Logo

काठमाडौँ, ९ वैशाख । रुवान्डामा जारी आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफीमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले शानदार प्रदर्शनलाई जारी राखेको छ ।

बुधबार भएको रोमाञ्चक भिडन्तमा घरेलु टोली रुवान्डालाई २ विकेटले स्तब्ध पार्दै नेपालले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको हो ।

रुवान्डाले दिएको ८९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले खेल सकिन २ बल बाँकी रहँदा ८ विकेट गुमाएर सफलता हात पार्यो । नेपालको जितमा ओपनर सम्झना खड्काको प्रदर्शन निर्णायक रह्यो । उनले ४२ बलमा ७ चौकाको मद्दतले सर्वाधिक ४८ रनको महत्त्वपूर्ण इनिङ खेलिन् ।

पहिलो खेलमा अमेरिकासँग हार बेहोरेको नेपालले त्यसपछिका खेलमा लोभलाग्दो पुनरागमन गरेको छ। दोस्रो खेलमा इटालीलाई ५० रनले हराएको नेपालले अहिले रुवान्डामाथि जित निकाल्दै आफ्नो लय समातेको छ ।

५ राष्ट्र सहभागी यस प्रतियोगितामा नेपालले अब शुक्रबार भानुआटुसँग प्रतिस्पर्धा गर्नेछ । तालिका अनुसार नेपालले आइतबार पुनः अमेरिकासँग खेल्नेछ भने अप्रिल २८ मा रुवान्डा, ३० मा भानुआटु र मे १ मा इटालीसँग अन्तिम खेल खेल्ने तालिका रहेको छ ।


सम्बन्धित समाचार