Logo

१० बैशाख, काठमाडौं । मुलुकमा मनसुनजन्य विपद्को जोखिम बढ्दै जाँदा सरकारसँग त्यसको सामना गर्न आवश्यक पर्याप्त स्रोत र साधनको अभाव देखिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सरकारी संयन्त्रसँग विपद् व्यवस्थापनका लागि आवश्यक प्रविधि र उपकरणको कमी रहेको स्वीकार गरेको हो ।

प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टका अनुसार हवाई उद्धारका लागि हेलिकप्टर, खोजतलासका लागि ड्रोन र बाढी प्रभावितको उद्धारका लागि आवश्यक डुङ्गा जस्ता अत्यावश्यक सामग्रीको अभाव टार्न निजी क्षेत्रसँग सहकार्य गर्नुको विकल्प देखिएको छैन । प्राधिकरणले गत वर्ष झैँ यस वर्ष पनि नेपालका दुईवटा ड्रोन एसोसिएसन र र्‍याफ्टिङ एसोसिएसनसँग सम्झौता गरी आपत्कालीन समयमा साधन र जनशक्ति परिचालन गर्ने तयारी गरेको छ ।

हेलिकप्टरको हकमा उपत्यकाभित्र निःशुल्क र बाढी बाहिर न्यूनतम लागतमा उद्धार गर्ने गरी निजी हवाई सेवा सञ्चालकहरूसँगको समन्वयलाई निरन्तरता दिइएको छ ।

विपद्को समयमा ड्रोन र पाइलटको व्यवस्थापन निजी क्षेत्रले गर्ने तथा उनीहरूको खाना र बस्ने प्रबन्ध प्राधिकरणले मिलाउने गरी कार्यविधि तय गरिएको छ । प्राधिकरणले विपद् व्यवस्थापनको अग्रपंक्तिमा रहने स्थानीय सरकारलाई थप जिम्मेवार बनाउन खोलानाला तथा ढलको सरसफाइमा जुट्न पत्राचार गरिसकेको छ ।

स्रोतको सीमितताका बाबजुद स्थानीय तह र निजी क्षेत्रको एकीकृत परिचालनबाट मात्र सम्भावित जनधनको क्षति न्यूनीकरण गर्न सकिने निष्कर्ष प्राधिकरणले निकालेको छ ।


सम्बन्धित समाचार