१० बैशाख, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार धितोपत्र बजारमा दोहोरो अंकको गिरावट देखिएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७ अंक (०.६० प्रतिशत) ले ओरालो लागेर २७८७.१५ विन्दुमा ओर्लिएको हो । बजारमा सुस्तता देखिए पनि कारोबार रकम भने ५ अर्ब रुपैयाँ नाघेको छ, जसले लगानीकर्ताहरूमाझ अझै पनि सक्रियता कायम रहेको संकेत गर्दछ ।
दिनभर कुल १ करोड १३ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ९ करोड रुपैयाँ बराबरको वित्तीय कारोबार भएको नेप्सेले जनाएको छ। बजारमा सूचीकृतमध्ये २१६ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा केवल ४६ वटा कम्पनीका लगानीकर्ताले मात्र नाफा कमाएका छन् भने ७ वटा कम्पनीको मूल्य स्थिर रहेको छ । समूहगत सूचकहरूमा उत्पादन तथा प्रशोधन, सामूहिक लगानी र व्यापार उपसमूहमा हरियाली देखिए पनि अन्य अधिकांश सूचकहरू राताम्मे बनेका छन् ।
मूल्य बढ्ने कम्पनीहरूमा पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको सेयर मूल्यमा करिब १५ प्रतिशतको उच्च वृद्धि देखिएको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि ९ प्रतिशतभन्दा बढी कमाएका छन् ।
अर्कोतर्फ, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकका सेयरधनीले सर्वाधिक ११.७९ प्रतिशत गुमाएका छन्। कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स ३० करोडको कारोबारसहित शीर्ष स्थानमा रहँदा सोलु हाइड्रो, आँखुखोला जलविद्युत् र होटल फरेस्ट इनले पनि राम्रो कारोबार गरेका छन् ।

















