११ बैशाख, चितवन । मानिसको शरीर कतिबेला ढल्छ, कसैलाई थाहा हुँदैन। तर, ढलेको शरीरलाई साहसको टेको दिएर उभ्याउन सक्नेहरूले नै इतिहासमा आफ्नो नाम दर्साउँछन्। यस्तै एक साहसी नाम हो— निरु सुनार।
चितवनको माडी नगरपालिका–१, अमेलियामा २०३६ साल जेठ २० गते जन्मिएकी निरुको जीवन एउटा यस्तो ऐना हो, जहाँ पीडाका अनगिन्ती रेखाहरू छन्, तर ती रेखाहरूलाई खुसीको रङ्गले भर्ने उनको अथक सङ्घर्ष अझ लोभलाग्दो छ।
२०५६ सालमा माडीको सोमेश्वर माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेकी निरु भविष्यका सुन्दर सपना बुन्दै भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा आईए अध्ययन गरिरहेकी थिइन्। बिहान सबेरै साइकल चढेर कलेज जाने–आउने उनको दैनिकी उत्साहपूर्ण थियो। तर, २०५८ साल पुस २० गतेको त्यो कालो बिहानले उनको जीवनलाई सदाका लागि अँध्यारो मोडमा पुर्याइदियो।
कलेजबाट फर्कँदै गर्दा क्याम्पस अगाडि नै उनलाई गुडिरहेको मोटरसाइकलले ठक्कर दियो। सुरुमा सामान्य चोट ठानेर घर फर्किएकी निरुको खुट्टाको दुखाइ बिस्तारै असह्य बन्दै गयो। रोग पत्ता लागेन। भरतपुरदेखि काठमाडौँका टिचिङ र वीर अस्पतालसम्म तीन महिना धाउँदा पनि डाक्टरहरूले जब ूरोग पत्ता लागेनू भने, तब निरुको सपनामा बज्रपात आइलाग्यो।
आँसुको नदी र उपचारको सास्ती
उपचारका लागि बुवा वीरबहादुर र आमा लक्ष्मीले साहुको ढोका ढक्ढकाउँदै ऋण खोजे। तर, निरुको स्वास्थ्यमा सुधार आएन। ूम यति रोएँ कि सायद त्यो आँसु बग्दा नदी बन्थ्यो होला, तर मेरो पीडा न डाक्टरले बुझे, न भगवानले, निरु भावुक हुँदै विगत सम्झिन्छिन्।
माडीदेखि काठमाडौँसम्मको त्यो कष्टकर यात्रा, राष्ट्रिय निकुञ्जका अप्ठ्यारा बाटो र रेउ नदी तर्दै गरिएको दौडधूपले उनलाई शारीरिक मात्र होइन, मानसिक रूपमा पनि थकायो। अन्ततः जोरपाटीस्थित थेरापी केन्द्रमा ६ महिनाको बसाईपछि एउटा कठोर सत्य बाहिर आयो— उनको कम्मरमुनिको भागले काम गर्न छोडिसकेको थियो। उनको संसार अब एउटा ह्वीलचेयरमा सीमित भयो।
ह्वीलचेयरको जीवन स्विकार्नु परेपछि निरुले हार खाइनन्। थेरापी केन्द्रमा अन्य अपाङ्गता भएका महिलाहरूलाई सिलाइ–कटाइ गरेर आत्मनिर्भर बनेको देखेपछि उनको मनमा एउटा आशा पलायो— म पनि सक्छु। ललितपुरको नवजीवन अपाङ्ग आश्रममा पाँच वर्ष बिताउँदा उनले सेवा र प्रार्थना मात्र सिकिनन्, बाँच्ने नयाँ आधार फेला पारिन्।
२०६३ सालमा उनलाई बचाउन आफ्नो जीवनभरको पसिना बगाउने बुवाको निधन भयो। बुवाको वियोगले उनलाई भत्कायो, तर आमाको सहारा बन्नु पर्ने जिम्मेवारीले फेरि उठ्न बाध्य बनायो। उनी भरतपुर–११, गणेशथानमा फर्केर गाउँका महिलाहरूलाई प्रौढ शिक्षा पढाउन थालिन्। तर समाज सधैँ सहयोगी थिएन। अपाङ्गता भएकै कारण कोठा नपाइने र अपमानित हुनुपर्ने अवस्थाले उनलाई पटक–पटक रुवायो।
निरु टेलर, एक सङ्घर्षको सफल ब्राण्ड
अनेक अस्विकारहरूका बीच चित्रबहादुर गुरुङले उनलाई एउटा कोठा दिए। त्यही कोठाबाट २० हजार रुपैयाँको लगानीमा सुरु भयो— निरु टेलर। सुरुमा आफैँले सीप सिकेर अरूलाई सिकाउन थालेकी निरुको व्यवसाय बिस्तारै फस्टाउन थाल्यो। उनको सङ्घर्षमा चलचित्र क्षेत्रका महानायक राजेश हमालका भाइ स्वर्गीय राकेशमान हमालले मेसिन, कुर्सी र टेबुल सहयोग गरेपछि काममा थप हौसला मिल्यो।
आज निरु टेलर केवल एक पसल मात्र होइन, सङ्घर्ष गरिरहेका महिलाहरूको आश्रयस्थल बनेको छ। अहिले उनको पसलमा दुई जनाले रोजगारी पाएका छन् भने उनले सिकाएका दर्जनौँ महिलाहरू आज आफैँ व्यवसाय गरेर आत्मनिर्भर बनेका छन्। २०८२ साल माघ ५ गतेदेखि उनले बसिनी बजारमा अर्को नयाँ टेलर पसल पनि सञ्चालनमा ल्याएकी छन्।
विवाहका बारेमा सोध्दा निरुका आँखा रसाउँछन्। जीवन नै बिरामी भएर बित्यो, त्यसपछि काममै लागेँ, त्यो सोच्ने फुर्सदै भएन, उनी भन्छिन्। लामो समय ह्वीलचेयरमा बस्दा शरीरमा घाउ हुने र चोट लाग्दा समेत थाहा नपाउने ९सेन्सेसन नहुने० समस्यासँग उनी अझै लडिरहेकी छन्। राज्यबाट विशेष सहयोग नपाए पनि उनको हिम्मत भने राज्यको सुरक्षाभन्दा बलियो देखिएको छ।
निरु सुनारको कथा आँसुबाट सुरु भएर साहसको शिखरमा पुगेको कथा हो। शरीर भाँचिए पनि आत्मा नझुक्ने उनको यो यात्राले सिकाउँछ कि— संकल्प भए ह्वीलचेयर पनि एउटा विमान बन्न सक्छ। निरु आज माडी र भरतपुरका लागि मात्र होइन, संसारभरका सङ्घर्षशील मानिसहरूका लागि प्रेरणाको एक जीवित प्रतिमूर्ति हुन्।



















