११ वैशाख,काठमाडौं । बितेको २४ घण्टामा सवारी नियम उल्लंघन गर्ने २ हजार ६९२ चालक ट्राफिक कारबाहीमा परेका छन्। कारबाहीबाट राज्यकोषमा ७ लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ट्राफिक नियम पालना नगर्ने चालकहरूमाथि निगरानी बढाइएपछि ठूलो संख्यामा कारबाही गरिएको हो।
कार्यालयका अनुसार ट्राफिक संकेत उल्लंघन गर्ने २२४ जना, तीव्र गतिमा सवारी चलाउने १३२ जना, मादक पदार्थ सेवन गरेर सवारी चलाउने ९१ जना तथा यान्त्रिक अवस्था ठीक नभएका सवारी साधन चलाउने ६३ जना कारबाहीमा परेका छन्।
त्यसैगरी, लेन अनुशासन पालना नगर्ने २३७ जना, सार्वजनिक सवारीका ढोका बन्द नगरी चलाउने ४७ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ७८ जना र निर्धारित स्थानबाहेक यात्रु चढाउने तथा ओराल्ने ४० जनामाथि पनि कारबाही गरिएको छ।
अन्य विभिन्न सवारी नियम उल्लंघन गर्ने १ हजार ७८० जनालाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले सवारी चालकहरूलाई नियम पालना गर्न अनुरोध गर्दै निगरानी र कारबाहीलाई अझ कडाइ गरिने जनाएको छ।

















