Logo

११ वैशाख,काठमाडौं । देशभर वन डढेलोका घटना बढ्दै जाँदा काठमाडौं उपत्यकासहितका क्षेत्रमा वायु प्रदूषण पनि तीव्र रूपमा वृद्धि भएको छ। लामो समयदेखि वर्षा नहुँदा सुक्खा मौसम र तापक्रम बढेकाले डढेलोको जोखिम उच्च बनेको वन तथा भू–संरक्षण विभागले जनाएको छ।

विभागका अनुसार सानो झिल्काले समेत आगलागी निम्त्याउने अवस्था बनेको छ। पछिल्ला दिनमा डढेलोबाट निस्कने धुवाँ र वायुमण्डलमा जमेको धुलोका कणले उपत्यकाको हावा गुणस्तरलाई गम्भीर रूपमा प्रभावित पारेको छ।

चैत महिनामा डढेलोका घटनामा केही कमी आए पनि वैशाख लागेसँगै फेरि वृद्धि देखिएको छ। वैशाख ६ देखि ९ गतेसम्म मात्र १०२ वटा डढेलोका घटना दर्ता भएका छन्। सबैभन्दा बढी घटना दाङ, कपिलवस्तु, नवलपुर, सल्यान, सुर्खेत र कैलालीमा देखिएका छन्।

संरक्षित क्षेत्रभित्र पनि डढेलोको जोखिम उच्च रहेको छ। चितवन राष्ट्रिय निकुञ्जमा मात्र २३ वटा घटना दर्ता भएका छन् भने पर्सा र बाँके निकुञ्जमा पनि उल्लेख्य डढेलो देखिएको विभागले जनाएको छ।

वन तथा भू–संरक्षण विभागका महानिर्देशक धीरेन्द्रकुमार प्रधानले सुक्खा मौसम र तापक्रम वृद्धिका कारण जोखिम अझै बढ्न सक्ने चेतावनी दिएका छन्। उनका अनुसार वर्षा नभएमा डढेलो नियन्त्रण झनै चुनौतीपूर्ण बन्नेछ।

यसैबीच, डढेलोको प्रभाव काठमाडौं उपत्यकाको वायुमा प्रत्यक्ष देखिएको छ। एयर क्वालिटी इन्डेक्स (एक्युआई) अनुसार काठमाडौंको वायु गुणस्तर सूचकाङ्क २४७ सम्म पुगेको छ, जसलाई ‘अत्यन्त अस्वस्थ’ श्रेणीमा राखिन्छ। यससँगै काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित शहरको सूचीमा पहिलो स्थानमा पुगेको छ।

वातावरण विभागका अनुसार वर्षा नहुनु, हावाको गति कमजोर हुनु र तापक्रम बढ्नुजस्ता कारणले प्रदूषित कणहरू वायुमण्डलमै थुप्रिएका छन्। डढेलोबाट निस्कने सूक्ष्म कण (पीएम २.५)ले प्रदूषण झनै बढाएको विज्ञहरूले बताएका छन्।

वातावरणविद्हरूले बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरूलाई अनावश्यक रूपमा बाहिर ननिस्कन र मास्क प्रयोग गर्न सुझाव दिएका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार केही दिन अझै सुक्खा र तातो मौसम रहने सम्भावना छ। यद्यपि आगामी सातादेखि वर्षा हुने सम्भावना रहेकाले त्यसपछि मात्रै डढेलो र प्रदूषणमा केही सुधार आउने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार