११ वैशाख,काठमाडौं । सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहेका २३ वर्षीय श्रीकृष्ण विकको मृत्यु प्रकरणको निष्पक्ष छानबिनका लागि नेपाल प्रहरीले ५ सदस्यीय छानबिन समिति गठन गरेको छ।
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेश कुमार आचार्यको संयोजकत्वमा समिति गठन गरेका हुन्।
जबरजस्ती करणी मुद्दामा अनुसन्धानका क्रममा सिन्धुली जिल्ला अदालतबाट म्याद थप भई हिरासतमा रहेका विक गत वैशाख ७ गते शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका थिए। उपचारका क्रममा उनको मृत्यु भएपछि घटना शङ्कास्पद रहेको भन्दै विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेको थियो।
समितिमा प्रहरी उपरीक्षक रबिन्द्र नाथ पौडेल, प्रहरी निरीक्षकहरू इन्द्रजित सुनार र प्रेम रेग्मी तथा प्रहरी नायब निरीक्षक राजेश्वर सापकोटा सदस्य रहेका छन्।
समितिलाई घटनाको तथ्यगत तथा वस्तुनिष्ठ छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ। छानबिन समिति गठनसँगै पीडित पक्षले जारी राखेको आन्दोलन हालका लागि स्थगित गरिएको प्रहरीले जनाएको छ।


















