११ वैशाख,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले मेनरोड विस्तारका क्रममा घरटहरा लगायतका संरचना भत्किएपछि पूर्ण रूपमा भूमिहीन बनेका प्रभावितहरूलाई राहत उपलब्ध गराउन पहल सुरु गरेको छ।
त्रिभुवन राजपथअन्तर्गत गण्डकदेखि मितेरी पुलसम्मको मेनरोड विस्तारका क्रममा सडकको दायाँ–बायाँ २५–२५ मिटर क्षेत्रभित्र पर्ने संरचनाहरू गत शनिबार र आइतबार डोजर प्रयोग गरी हटाइएको थियो।
महानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै प्रभावित भूमिहीन नागरिकहरूको पहिचान तथा राहतका लागि लगत संकलन सुरु गरिएको जनाएको छ। आवश्यक कागजातसहित ३० दिनभित्र विवरण बुझाउन सम्बन्धित सबैलाई अनुरोध गरिएको छ।
सूचनामा सडक विस्तारका कारण विस्थापित भएका र अन्यत्र पनि जग्गा नभएका पूर्ण रूपमा भूमिहीन नागरिकहरूलाई राहत उपलब्ध गराउने उद्देश्यले तथ्याङ्क संकलन प्रक्रिया अघि बढाइएको उल्लेख छ।
यो निर्णय जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकपछि गरिएको हो। बैठकको निर्णयअनुसार प्रभावितहरूको विवरण संकलन गरी संघीय सरकारसमक्ष राहत सिफारिस गरिने महानगरले जनाएको छ।
महानगर प्रमुख राजेशमान सिंहका अनुसार संकलित विवरणको विस्तृत छानबिनपछि वास्तविक रूपमा प्रभावित नागरिकहरूलाई राहत उपलब्ध गराइनेछ।
सडक डिभिजन कार्यालय हेटौंडाले महानगरको समन्वयमा गत शनिबार र आइतबार १३ वटा डोजर प्रयोग गरी करिब १,२०० घरटहरा हटाएको थियो।


















