Logo

११ बैशाख, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेलाई पक्राउ गरेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणाली (सफ्टवेयर) मा प्रवेश गरी ठेक्का विवरण हेरफेर (ह्याक) गरेको गम्भीर आरोपमा उनलाई शुक्रबार नियन्त्रणमा लिइएको हो ।

सीआईबीका प्रमुख मनोज केसीले अनुसन्धानका सिलसिलामा पाण्डेलाई कार्यालयमा बोलाएर नियन्त्रणमा लिइएको पुष्टि गरे। ठेक्कापट्टाको विवरण सच्याउने वा हेरफेर गर्ने कार्यमा उनको संलग्नताको आशंकामा प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो । “प्राविधिक र कानुनी विषयमा अनुसन्धान भइरहेको छ, थप विवरण पछि सार्वजनिक गर्नेछौँ,” ब्युरो प्रमुख केसीले भने। निर्माण व्यवसायीको आवरणमा सरकारी प्रणालीमाथि नै हस्तक्षेप भएको भन्दै यो घटनालाई सुरक्षा निकायले उच्च प्राथमिकताका साथ हेरेको छ ।

राजनीतिक र व्यावसायिक दुवै वृत्तमा प्रभावशाली रहेका पाण्डे विगतदेखि नै विभिन्न विवाद र कानुनी झमेलामा रहँदै आएका छन् । कालिका कन्स्ट्रक्सनका अध्यक्ष तथा प्रबन्ध निर्देशकसमेत रहेका पाण्डेको कम्पनीले लिएका दर्जनौँ ठेक्काहरू काम अलपत्र पारेको र ढिलासुस्ती गरेको भन्दै आलोचित बन्दै आएका छन् ।

उनीमाथि लागेको ‘ह्याक’ को यो पछिल्लो आरोपमात्र होइन। पाण्डे यसअघि बहुचर्चित ‘सिक्टा सिँचाइ आयोजना’ भ्रष्टाचार मुद्दामा पनि तानिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको उक्त भ्रष्टाचार मुद्दामा विशेष अदालतले उनलाई ४ करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। उक्त मुद्दा अहिले पनि कानुनी प्रक्रियामा छ ।

निर्माण व्यवसायीको रूपमा देशभरको पूर्वाधार क्षेत्रमा एकछत्र प्रभाव राख्ने पाण्डे २०७९ सालको निर्वाचनमा चितवन–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। वन मन्त्रीको जिम्मेवारी सम्हालिसकेका पाण्डेको पक्राउले नेपाली राजनीतिमा पुनः तरङ्ग पैदा गरेको छ । एकातिर पुरानो भ्रष्टाचारको मुद्दा र अर्कोतिर सार्वजनिक खरिद प्रणालीमाथिको गम्भीर सुरक्षा चुनौतीको आरोपले उनको राजनीतिक र व्यावसायिक साखमाथि गम्भीर प्रश्न खडा गरेको छ ।

प्रहरीले यस घटनालाई राष्ट्रिय सुरक्षा र सुशासनसँग जोडेर हेरेकाले पाण्डेमाथि हुन लागेको यो अनुसन्धानलाई विशेष चासोका साथ हेरिएको छ । केही बेरमै अनुसन्धानको विस्तृत जानकारी सार्वजनिक हुने प्रहरी स्रोतले जनाएको छ ।


सम्बन्धित समाचार