१२ वैशाख,काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका सुकुमवासी बस्तीहरू शनिबार बिहानदेखि खाली गराउने प्रक्रिया सुरु गरिएको छ। सरकारले बस्ती व्यवस्थापन तथा स्थानान्तरणको तयारीसँगै थापाथली क्षेत्रसहितका बस्तीबाट प्रभावित परिवारहरूको विवरण संकलन थालेको हो।
शनिबार बिहान ११ बजेसम्म थापाथलीस्थित बागमती नदी किनार आसपासका सुकुमवासीहरू सरकारी निकायसँग सम्पर्कमा आउन थालेका छन्। दिउँसो १ बजेसम्म २२ परिवारका सदस्यहरूले आफूहरू घरवारविहीन भएको भन्दै विवरण दर्ता गराएका छन्। उनीहरूले आफ्नो पारिवारिक विवरण तथा आवश्यक कागजात सरकारी टोलीलाई उपलब्ध गराएका छन्।
सरकारी टोलीले अहिले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अस्थायी रूपमा विवरण संकलन केन्द्र सञ्चालन गरी सुकुमवासीहरूको ‘स्क्रिनिङ’ गरिरहेको छ। विवरण संकलन सकिएपछि उनीहरूलाई कीर्तिपुरस्थित राधास्वामी आश्रममा स्थानान्तरण गर्ने तयारी गरिएको छ।
यस कार्यमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौं उपत्यका विकास प्राधिकरणलगायतका निकायहरू संलग्न छन्। गुहेश्वरीफाँट, अनामनगरलगायत विभिन्न स्थानमा छुट्टाछुट्टै डेस्क स्थापना गरी प्रभावित परिवारहरूको विवरण व्यवस्थित रूपमा संकलन भइरहेको जनाइएको छ।
सरकारले फरक–फरक क्षेत्रका सुकुमवासीका लागि छुट्टाछुट्टै व्यवस्थापन प्रक्रिया अघि बढाउँदै उनीहरूको पहिचान र स्थानान्तरण कार्यलाई क्रमबद्ध रूपमा अघि बढाइरहेको छ।


















