१२ वैशाख, चितवन । माडी कला केन्द्रले आयोजना गरेको तेश्रो माडी सांस्कृतिक तथा पर्यटन उत्सव–२०८३ यतिबेला सांस्कृतिक प्रवर्द्धनका नाममा अवैध गतिविधिको केन्द्र बनेको छ। महोत्सव स्थलमा रातको समयमा खुलेआम जुवा खेलाइएका दृश्यहरू बाहिरिएपछि स्थानीयवासीले आयोजक र प्रशासनमाथि गम्भीर प्रश्न उठाएका छन्।
कानुनले पूर्ण रूपमा अवैध भनेको जुवा–तास महोत्सवको मुख्य आकर्षण जस्तै बनेको छ। स्थानीयका अनुसार बेलुका ९ बजेसम्म स्टेजका कार्यक्रम सुरु नै नहुने र त्यसपछि मध्यरातसम्म जुवा खेलाउने गरिएको छ। इलाका प्रहरी कार्यालय माडीबाट सुरक्षाकर्मीहरू मेलास्थलमै खटिए पनि उनीहरूकै अगाडि भइरहेका यस्ता गतिविधिमा प्रहरी मुकदर्शक बनेको आरोप लागेको छ। यस खेलमा युवायुवती र विद्यार्थीहरूले समेत हजारौँ रुपैयाँ गुमाउन थालेपछि अभिभावकहरू चिन्तित बनेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गोविन्द पुरीले भने यसबारे आफूलाई जानकारी नभएको बताएका छन्। जुवा खेलाएको र तोकिएको समयभन्दा बढी (राति ११ बजेसम्म) मेला लगाएको बारे मलाई जानकारी छैन, एसपी पुरीले भने, यदि त्यहाँ जुवा खेलाइएको पाइएमा तत्काल कारबाही हुन्छ।
परीक्षाको मुखमा विद्यार्थीलाई मार
कक्षा १२ को बोर्ड परीक्षा वैशाख १४ गतेदेखि सुरु हुँदैछ। परीक्षाको अन्तिम तयारीमा जुट्नुपर्ने समयमा विद्यालय नजिकै मध्यरातसम्म चल्ने भड्किलो संगीत र जुवाको होहल्लाले विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको स्थानीयको गुनासो छ। माडीका क्रियाशील राजनीतिक दल, जनप्रतिनिधि र मेयरको प्रत्यक्ष(अप्रत्यक्ष सहयोगमा सञ्चालित भनिएको यो महोत्सवमा भइरहेका गतिविधि कानुनसम्मत नभएको भन्दै चौतर्फी आलोचना भइरहेको छ।
नेपालको प्रचलित कानुन मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ (सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर) अन्तर्गत जुवा सम्बन्धी व्यवस्था गरिएको छ। ऐनमा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
दोस्रो पटकदेखि जुवा खेलेको वा खेलाएको पाइएमा १ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने र त्यसपछिको प्रत्येक पटकमा थप ३ महिना कैद र १० हजार जरिवाना बढ्दै जाने प्रावधान छ। कानूनले जुवा खेल्न प्रयोग भएका यन्त्र, उपकरण र जुवाको खालबाट बरामद भएको नगद समेत जफत हुने कानुनी व्यवस्था छ।
माडी महोत्सवमा जुवा खेलाई रहेका भिडियो समेत सर्वसाधारणले खिचेर रेसखवरलाई उपलब्ध गराएका छन् ।



















