१३ बैशाख, वीरगञ्ज । नेपाल-भारत सीमावर्ती क्षेत्रको खुलापनको फाइदा उठाउँदै भारतीय बजार रक्सौलबाट वीरगञ्जमा ‘क्वारेन्टिन जाँचबिनै’ तरकारी तथा फलफूल भित्रिने क्रम बढ्दो छ । स्वस्थकर खानेकुरा उपभोग गर्न पाउने नागरिकको अधिकारमाथि सीमावर्ती क्षेत्रका यस्ता अनियन्त्रित गतिविधिले गम्भीर चुनौती खडा गरेको छ ।
दैनिक उपभोग्य वस्तुहरूमा क्वारेन्टिन जाँच अनिवार्य हुनुपर्ने भए पनि यहाँको अवस्था ठीक उल्टो छ । वीरगञ्ज महानगरको छपकैया, इनर्वा र बाराको विश्रामपुरलगायतका खुला नाका प्रयोग गरी साइकल चालकहरूले दैनिक ठूलो परिमाणमा भारतीय तरकारी तथा फलफूल भित्र्याइरहेका छन् । बिहान सबेरैदेखि सुरु हुने यस्तो ‘क्यारिङ’ (ओसारपसार) स्थानीय बजारसम्म निर्वाध रूपमा पुग्ने गरेको छ ।
उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य अजित भुजेलका अनुसार, चेकजाँच नभएका तरकारी र फलफूलमा कुन स्तरको विषादी प्रयोग भएको छ भन्नेबारे कसैलाई जानकारी छैन । “खुला सीमाको दुरुपयोग गर्दै विभिन्न समूहले साइकलमार्फत भित्र्याउने तरकारीले जनस्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्छ,” भुजेलले भने, “स्थानीय प्रशासन र सुरक्षा निकायले यसलाई रोक्न तत्काल प्रभावकारी कदम चाल्न जरुरी छ।”
सीमा क्षेत्रमा सशस्त्र प्रहरी र स्थानीय प्रशासनको उपस्थितिका बाबजुद पनि यस्ता गतिविधि रोकिनुले सुरक्षा निकायको प्रभावकारितामाथि प्रश्न उठेको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालले भन्सार प्रक्रिया र क्वारेन्टिन जाँच पूरा नभएका वस्तु भित्र्याउन नपाइने स्पष्ट पारेका छन् । “क्वारेन्टिनबिनै तरकारी ल्याउन पाइँदैन। यदि कसैले त्यसो गरिरहेको छ भने अनुगमन गरी नियन्त्रणमा लिइनेछ,” दाहालले भने ।
यता, सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टरका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीले बाराको विश्रामपुर गाउँपालिकासँग जोडिएको सीमावर्ती क्षेत्रबाट तरकारी बढी मात्रामा भित्रिने गरेको स्वीकारे । सीमा क्षेत्रबाट हुने यस्ता गतिविधि नियन्त्रण गर्न सुरक्षाकर्मीको उपस्थिति बढाउनुपर्ने चुनौती कायमै छ ।
चेकजाँच नभएका तरकारीले बजार ढाक्दा स्वदेशी उत्पादनले मूल्य नपाउने मात्र होइन, अस्वस्थकर वस्तुको उपभोगले नागरिकको स्वास्थ्यमा प्रत्यक्ष जोखिम बढेको छ । पटक-पटक यस्ता समाचार बाहिर आए पनि नियमनकारी निकायहरू गम्भीर नबन्दा ‘साइकल तस्करी’ ले संस्थागत रूप लिइरहेको छ ।


















