Logo

१३ बैशाख, भक्तपुर । भक्तपुरको मनोहरा खोला किनारस्थित अतिक्रमित सुकुमबासी बस्तीमा सरकारले पुनः डोजर चलाउने तयारी गरेको छ । शनिबार संरचना हटाउने क्रममा स्थानीयको ढुङ्गामुढाबाट सुरक्षाकर्मी घाइते भएपछि रोकिएको उक्त अभियानलाई प्रशासनले आज आइतबार थप सुरक्षा बलका साथ निरन्तरता दिन लागेको हो ।

आज बिहानैदेखि मनोहरा खोला किनार क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ । हिजो भएको झडप र सुरक्षाकर्मीमाथिको आक्रमणलाई मध्यनजर गर्दै यसपटक प्रशासनले कुनै पनि सम्भावित प्रतिरोधलाई रोक्न सुरक्षा घेरालाई थप कडा बनाएको छ। बस्तीको मुख्य क्षेत्र र वरपरको भागमा सुरक्षाकर्मीहरू तैनाथ गरिएका छन् भने डोजरहरू तम्तयार अवस्थामा राखिएका छन् ।

शनिबार गैह्रीगाउँको बस्ती खाली गराएर मनोहरा पुगेको डोजरसहितको टोलीमाथि स्थानीयले ढुङ्गामुढा र बोतल प्रहार गरेका थिए । सो झडपमा परी सुरक्षाकर्मी घाइते भएपछि स्थिति केहीबेर अनियन्त्रित बनेको थियो। स्थानीयको कडा प्रतिकारका कारण हिजो संरचना हटाउने कार्य बीचमै रोकिएको थियो । तर, प्रशासनले यसपटक भने थप तयारी र सुरक्षा रणनीतिसहित बस्ती खाली गराउने कार्य अघि बढाएको छ ।

सरकारी स्रोतका अनुसार, सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरू हटाउने कार्यबाट प्रशासन पछि हटने छैन । “हिजोको घटना दुर्भाग्यपूर्ण भए पनि सार्वजनिक हितका लागि गरिने यो काम रोकिने छैन,” प्रशासन स्रोतले जनाएको छ ।

यता, बस्ती खाली हुने निश्चित भएपछि स्थानीयहरूमा त्रास र अन्योल देखिएको छ । कतिपय बासिन्दाले आफ्ना बाँकी सामानहरू सुरक्षित स्थानमा सार्ने प्रयास गरिरहेका छन् भने प्रशासनको कडा सुरक्षा तैनाथीका कारण स्थिति निकै तनावपूर्ण छ । प्रशासनले हिजो नै पर्याप्त समय दिइसकेको जनाउँदै आज कुनै पनि बहानामा अतिक्रमण नहटाउने कार्य नरोकिने स्पष्ट पारेको छ ।

केही समयअघिदेखि नै उपत्यकाका विभिन्न नदी किनारका बस्ती खाली गराउने अभियान चलाइरहेको सरकारले मनोहरालाई उच्च प्राथमिकतामा राखेको छ ।


सम्बन्धित समाचार