Logo

१३ बैशाख, कपिलवस्तु । कपिलवस्तुमा गएराति पार्किङ गरिराखेको ट्रकमा भारतीय नम्बरको स्कार्पियो ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने अन्य तीनजना गम्भीर घाइते भएका छन् । हुलाकी सडकखण्डअन्तर्गत कपिलवस्तु नगरपालिका–१२ पिप्ररहवामा उक्त दर्दनाक दुर्घटना भएको हो ।

बहादुरगञ्जबाट तौलिहवातर्फ आउँदै गरेको यूपी ३२ सीए ८३४३ नम्बरको स्कार्पियो सडक किनारमा रोकिराखेको लु १ ख ९५४९ नम्बरको ट्रकमा गएराति ठोक्किएको थियो। तीव्र गतिमा रहेको स्कार्पियो अनियन्त्रित भई ट्रकको पछाडिको भागमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी कपिलवस्तु नगरपालिका–११ का ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज नगरपालिका–६ की ५५ वर्षीया चिन्नी कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पुष्टि गरेको छ ।

दुर्घटनामा परी घाइते हुनेहरूमा महाराजगन्ज नगरपालिका–११ का ६५ वर्षीय नन्दप्रसाद दुबे, शिवराज नगरपालिका–१० का २८ वर्षीय मोतीलाल कुर्मी र शिवराज नगरपालिका–११ का २० वर्षीय सुरेश कुर्मी रहेका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ घटनास्थलमा पुगेको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, स्कार्पियो तीव्र गतिमा रहेको र अनियन्त्रित भई पार्किङ गरिएको ट्रकमा ठोक्किएको देखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार