Logo

१३ चैत, काठमाडौं । काठमाडौँ महानगरपालिकाले मनोहरा खोला किनारमा रहेको सुकुमवासी बस्ती हटाउने कार्यलाई आज दोस्रो दिन पनि निरन्तरता दिएको छ ।

हिजो साँझ स्थानीयको चर्को विरोध र झडपका कारण रोकिएको यो अभियान आज बिहानैदेखि बाक्लो सुरक्षा परिचालनबीच पुनः सुरु गरिएको हो । महानगरको डोजरले अवैध संरचनाहरू ढाल्न थालेसँगै सो क्षेत्रमा यतिबेला तनाव र भागदौडको स्थिति देखिएको छ ।

बस्ती भत्काउने क्रममा मानवीय संवेदनशीलतालाई ध्यान दिँदै प्रहरीले घरभित्र रहेका अशक्त, वृद्धवृद्धा र बिरामीहरूको उद्धारमा विशेष सक्रियता देखाएको छ । कतिपय बिरामी महिला र वृद्धहरूलाई सुरक्षाकर्मीले स्ट्रेचरमा राखेर सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन् । संरचना भत्काउनुअघि मानवीय क्षति हुन नदिन र असहाय वर्गलाई सुरक्षित निकाल्न सुरक्षाकर्मीको टोली घर(घरमा खटिएको देखिएको छ ।

हिजो साँझ स्थानीय बासिन्दाले ढुङ्गामुढासहित प्रतिवाद गर्दा केही सुरक्षाकर्मी घाइते भएपछि आज प्रशासनले रणनीतिक रूपमा ठुलो सङ्ख्यामा सुरक्षा फौज परिचालन गरेको छ ।

उपत्यकाका विभिन्न वृत्तबाट झिकाइएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बस्तीलाई चारैतिरबाट घेरा हालेर डोजर सञ्चालनका लागि बाटो प्रशस्त गरेका छन् । शनिबार मात्रै थापाथली र गैह्रीगाउँको सुकुमवासी बस्तीमा डोजर चलाएको महानगरले आज मनोहरा क्षेत्रलाई आफ्नो निशानामा राखेको हो ।

अहिले सो क्षेत्रमा डोजरको सहायताले धमाधम घरटहराहरू भत्काउने कार्य भइरहेको छ । वर्षौँदेखि बसोबास गर्दै आएका स्थानीयहरू आफ्ना सरसामान जोगाउन व्यस्त देखिन्छन् भने कतिपयले सरकारी कदमको शान्तिपूर्ण विरोध गरिरहेका छन् ।

महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्ने अभियानअन्तर्गत यो कदम चालेको दाबी गरिरहँदा विस्थापितहरूको उचित व्यवस्थापनको प्रश्न भने अझै अनुत्तरित नै छ ।


सम्बन्धित समाचार