१३ बैशाख, काठमाडौं । स्पेनमा बसोबास गर्दै आएका र कानुनी मान्यता पाउने प्रक्रियामा रहेका नेपालीहरूले अब कागजात प्रमाणीकरण (लिगलाइजेसन) का लागि भारतको नयाँ दिल्ली धाउनुपर्ने भएको छ ।
काठमाडौँको बत्तीसपुतलीस्थित स्पेनी महावाणिज्य दूतावासले गरिआएको यो सेवा तत्कालका लागि बन्द भएसँगै नेपालीहरूले सास्ती खेप्नुपर्ने देखिएको हो । स्पेन सरकारले गैरकानुनी रूपमा बसोबास गरिरहेका आप्रवासीहरूलाई ‘एक्स्ट्राअर्डिनरी रेगुलेसन’ मार्फत कानुनी अनुमति दिने प्रक्रिया सुरु गरेकै समयमा नेपालबाट यो सेवा खोसिएको छ ।
नयाँ व्यवस्था अनुसार नेपाली सरकारी निकायहरूले जारी गरेका कागजात र त्यसमा रहेका हस्ताक्षरहरू प्रमाणित गर्ने सम्पूर्ण अधिकार अब नयाँ दिल्लीस्थित स्पेनी दूतावासको कन्सुलर शाखामा सरेको छ ।
यसअघि काठमाडौँस्थित नियोगमार्फत नै कागजात प्रमाणीकरण र नयाँ दिल्लीका कन्सुलर प्रमुखसँग भिडियो कलमार्फत अन्तर्वार्ता हुने सुविधा उपलब्ध थियो । अब भने आवेदकहरूले आफ्ना कागजात बोकेर भौतिक रूपमै दिल्ली जानुपर्ने वा त्यहाँको दूतावासमा पठाउनुपर्ने बाध्यता सिर्जना भएको छ ।
स्पेनले ‘एक्स्ट्राअर्डिनरी रेगुलेसन २०२६’ कार्यक्रमअन्तर्गत ५ लाख गैरकानुनी आप्रवासीलाई कानुनी मान्यता दिने तयारी गरेको छ । यो योजनामा सहभागी हुन सन् २०२५ डिसेम्बर ३१ भन्दा अगाडि कम्तीमा ५ महिनादेखि निरन्तर स्पेनमा बस्दै आएका व्यक्तिहरूले मात्र आवेदन दिन पाउनेछन् ।
आवेदनका लागि वैवाहिक अवस्था र प्रहरी चारित्रिक प्रमाणपत्रसहित कम्तीमा ११ वटा प्रमाणित कागजात पेस गर्नुपर्ने हुन्छ, जुन कागजातहरू अब दिल्लीबाट मात्र ‘लिगलाइज’ हुनेछन् ।
आगामी जुन ३० सम्म आवेदन दिने समय तोकिएको यस कार्यक्रममा मापदण्ड पूरा गर्ने नेपालीहरूको सङ्ख्या उल्लेख्य छ । आवेदनको समय नजिकिँदै गर्दा काठमाडौँबाट सेवा बन्द हुनुले धेरैलाई चिन्तित बनाएको छ ।
महावाणिज्य दूतावासले अर्को सूचना नआएसम्मका लागि नेपाली कागजात प्रमाणित गर्ने जिम्मेवारी खारेज गरिएको जनाएको छ, जसका कारण समयमै प्रक्रिया पूरा गर्न चाहने नेपालीहरूले अब अतिरिक्त आर्थिक र भौतिक भार वहन गर्नुपर्ने देखिएको छ ।

















