१४ वैशाख, चितवन । चितवनको औलो नियन्त्रण, बस्ती विकास र प्रजातान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व बखानसिंह गुरुङको जीवनीमा आधारित उपन्यास ‘बखान’ माथि पोखरा र स्याङ्जामा विमर्श गरिएको छ । लेखक तथा पत्रकार वसन्त पराजुलीद्वारा लिखित उक्त कृतिमाथि विभिन्न साहित्यिक संस्थाहरूले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी यसको ऐतिहासिक र साहित्यिक महत्त्वबारे चर्चा गरेका हुन् ।
आइतबार विश्व औलो नियन्त्रण दिवसको सन्दर्भ पारेर गुरुङ साहित्यिक मञ्च नेपालले पोखरास्थित हिमालयन रिडर्स कर्नरमा आयोजना गरेको कार्यक्रममा उपन्यासले समेटेको ऐतिहासिक पाटोमाथि केन्द्रित रहेर छलफल भयो । कार्यक्रममा बोल्दै समीक्षक गौरी तमूले चितवनको औलो नियन्त्रण र बस्ती विकासमा उल्लेख्य भूमिका निर्वाह गरेका बखानसिंह गुरुङको जीवनलाई उपन्यासले न्याय गरेको बताए । तथ्य र तथ्याङ्कमा आधारित यो कृतिले नेपालको राजनीतिलाई उजागर गर्नुका साथै राज्यसत्ताले आदिवासी जनजातिमाथि गरेको थिचोमिचोको यथार्थलाई पनि बाहिर ल्याएको उनको भनाइ थियो ।
सोही कार्यक्रममा प्रा.डा. कुसुमाकर न्यौपानेले ‘बखान’ उपन्यास बखानसिंह गुरुङको दुखान्त जीवनमा केन्द्रित रहेको बताए । कारुणिक भावमा लेखिएको यो उपन्यास वस्तुपरक, अनुसन्धानमूलक र यथार्थपरक रहेको धारणा राख्दै उनले यसले एउटा बिर्सिएको इतिहासलाई पुनः जीवित गराएको उल्लेख गरे ।

यसैगरी, स्याङ्जाको वालिङमा ‘वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान’ ले आयोजना गरेको विमर्श कार्यक्रममा उपन्यासको सामाजिक र राजनीतिक पक्षमाथि चर्चा गरियो । उपन्यासमाथि टिप्पणी गर्दै समीक्षक मिलन समीरले ‘बखान’ उपन्यास केवल एक व्यक्तिको जीवनी मात्र नभएर एउटा सिंगो कालखण्डको इतिहास भएको बताए । उनले भने, “उपन्यासमा सात सालको क्रान्ति, सहकारी आन्दोलन, चितवनको परिवेश र पर्यावरणीय चेतलाई लेखकले निकै कुशलतापूर्वक केलाएका छन् ।”
कार्यक्रममा आफ्नो रचना गर्भबारे बोल्दै लेखक वसन्त पराजुलीले ऐतिहासिक घटनाक्रमलाई जोखिम उठाएरै भए पनि उपन्यासको रूपमा उतारेको बताए । चितवनको राजनीति, सहकारी स्थापना र बस्ती विकासमा बखानसिंह गुरुङले पुर्याएको योगदानलाई ओझेलमा पर्न नदिन आफूले यो कृति तयार पारेको उनको भनाइ थियो ।
नेपाल शिक्षक सङ्गठनका पूर्व केन्द्रीय उपाध्यक्ष यामबहादुर कुँवरले बखानसिंहको योगदानको कदर गर्दै लेखक पराजुलीलाई धन्यवाद दिए । कवि तथा निबन्धकार शम्भु अर्यालले सहजीकरण गरेको उक्त कार्यक्रममा स्थानीय साहित्यप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष समेत रहेका पराजुलीका यसअघि ‘कुमाता’, ‘मोम्चो’ र ‘ड्रीमी आइज’ जस्ता कथासङ्ग्रहहरू प्रकाशित भइसकेका छन् ।

















