Logo

१४ बैशाख, काठमाडौं । नेपाली सुरक्षा निकायको महत्वपूर्ण अंग सशस्त्र प्रहरी बलले नयाँ नेतृत्व पाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेललाई सशस्त्र प्रहरीको १३ औं आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।

हालका आईजीपी राजु अर्यालले आफ्नो चार वर्षे सफल कार्यकाल पूरा गरी यही १८ वैशाखमा अनिवार्य अवकाश पाउनुहुने भएपछि सरकारले वरिष्ठता र कार्यक्षमताका आधारमा पौडेललाई संगठनको सर्वोच्च पदमा पदोन्नति गरेको हो । हाल सशस्त्र प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभाग प्रमुखका रूपमा कार्यरत पौडेलले आगामी १८ वैशाखदेखि औपचारिक रूपमा संगठनको कमान्ड सम्हाल्नुहुनेछ ।

विगत २७ वर्षदेखि सुरक्षा सेवामा समर्पित पौडेलको व्यावसायिक यात्रा निकै प्रेरणादायी रहेको छ । वि.सं. २०५४ सालमा नेपाल प्रहरीको निरीक्षक ९इन्स्पेक्टर० बाट सेवा प्रवेश गर्नुभएका उनी सशस्त्र प्रहरी बल गठन भएपछि सोही संगठनमा स्थानान्तरण हुनुभएको थियो ।

आफ्नो सेवा अवधिमा विभिन्न महत्वपूर्ण विभाग र कमान्ड सम्हाल्नुभएका पौडेल २०७९ जेठमा एआईजी पदमा बढुवा हुनुभएको थियो । आईजीपी पदका लागि उनीसँगै एआईजीहरू वंशी दाहाल र गणेश ठाडा मगर पनि प्रतिस्पर्धामा रहे तापनि वरिष्ठता र अनुभवका आधारमा पौडेल पहिलो दाबेदारका रूपमा देखिनुभएको थियो ।

नवनियुक्त आईजीपी पौडेलको कार्यकाल झण्डै दुई वर्षको रहनेछ । सशस्त्र प्रहरी नियमावलीमा रहेको ३० वर्षे सेवा हदको प्रावधानका कारण उनी १८ चैत २०८४ सम्म संगठनको प्रमुख पदमा बहाल रहनुहुनेछ ।

सीमा सुरक्षा, शान्ति सुरक्षा र विपद् व्यवस्थापन जस्ता चुनौतीपूर्ण जिम्मेवारी बोकेको सशस्त्र प्रहरी बललाई थप व्यावसायिक र सुदृढ बनाउने जिम्मेवारी अब पौडेलको काँधमा आएको छ । संगठनभित्र एक कुशल र व्यावसायिक अधिकृतको छवि बनाउनुभएका पौडेलको नियुक्तिलाई सशस्त्र प्रहरी वृत्तमा सकारात्मक रूपमा लिइएको छ ।


सम्बन्धित समाचार