१५ बैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा नेपालका वाणिज्य बैंकहरूको नाफामा उल्लेख्य सुधार देखिएको छ ।
२० वटा वाणिज्य बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चैत मसान्तसम्ममा उनीहरूले कुल ४९ अर्ब २१ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा करिब ८ अर्ब रुपैयाँले बढी हो । गत आर्थिक वर्षको नौ महिनामा बैंकहरूको कुल नाफा ४१ अर्ब २५ करोड ९ लाख रुपैयाँ मात्र सीमित रहेको थियो ।
नाफाको परिमाणका आधारमा नबिल बैंकले आफ्नो अग्रतालाई कायमै राख्दै पहिलो स्थान ओगट्न सफल भएको छ । नबिलले यस अवधिमा ६ अर्ब ७६ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको छ ।
त्यसैगरी, ४ अर्ब ४० करोड ११ लाख रुपैयाँ नाफासहित ग्लोबल आइएमई बैंक दोस्रो र ४ अर्ब १७ करोड ८० लाख रुपैयाँसहित कुमारी बैंक तेस्रो स्थानमा रहेका छन् । समग्रमा १३ वटा बैंकको नाफामा वृद्धि देखिए पनि ७ वटा बैंकको नाफामा भने अघिल्लो वर्षको तुलनामा गिरावट आएको छ ।
विवरणअनुसार एभरेष्ट बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा र प्राइम कमर्सियल बैंकले ३ अर्बभन्दा बढीको नाफा कमाएका छन् भने नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनएमबि बैंक २ अर्बको क्लबमा रहेका छन्। अन्य बैंकहरू सानिमा, स्टान्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज र सिद्धार्थले पनि २ अर्ब माथिको नाफा आर्जन गरेका छन् ।
सबैभन्दा कम नाफा कमाउनेमा एनआईसी एशिया बैंक रहेको छ, जसको नाफा यस अवधिमा १४ करोड रुपैयाँमा खुम्चिएको छ। हिमालयन र प्रभु बैंकको नाफा पनि १ अर्बभन्दा मुनि रहेको तथ्याङ्कले देखाउँछ ।

















