१५ बैशाख, काठमाडौं । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा मुछिएका दुई महत्त्वपूर्ण भ्रष्टाचार मुद्दाको सुनुवाइ पुनः स्थगित भएको छ ।
विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासमा मंगलबारका लागि तय गरिएको पेसी शर्माका कानुन व्यवसायीको अनुरोधमा स्थगित गरिएको हो । गैरकानुनी रूपमा ‘अकुत सम्पत्ति’ आर्जन गरेको र कर फ्छ्र्यौट आयोगमार्फत राजस्व चुहावट गरेको अभियोगमा उनी लामो समयदेखि कानुनी झमेलामा रहँदै आएका छन् ।
विशेष अदालतले यसअघि नै कर फ्छ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालसहित शर्मालाई १० अर्ब २ करोड रुपैयाँभन्दा बढी राजस्व छुट दिएर भ्रष्टाचार गरेको ठहर गर्दै दोषी प्रमाणित गरेको थियो ।
आयोगले बक्यौता कर छुट दिँदा बदनियत राखेको र राज्यलाई अर्बौँको नोक्सानी पुर्याएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबीलाई विशेषले सदर गरेको थियो । तर, विशेषको उक्त फैसलालाई चुनौती दिँदै शर्मासहितका आरोपितहरू सर्वोच्च अदालत पुगेका थिए ।
यस प्रकरणमा एक नयाँ मोड तब आयो जब २०८२ असार २५ मा सर्वोच्च अदालतले विशेषको अघिल्लो फैसलालाई ‘त्रुटिपूर्ण’ ठहर गर्यो । न्यायाधीशद्वय सारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले स्वच्छ सुनुवाइको सिद्धान्तमा प्रश्न उठाउँदै मुद्दालाई पुनः सुनुवाइको प्रक्रियामा लैजान विशेष अदालतमा नै फिर्ता पठाइदिएको थियो ।
सर्वोच्चबाट फर्किएको यस मुद्दाको अन्तिम टुङ्गो लाग्न अझै केही समय लाग्ने देखिएको छ, जसले गर्दा अर्बौँको राजस्व हिनामिनाको यो चर्चित काण्ड पुनः अन्योलमा परेको छ ।

















