१६ बैशाख, काठमाडौं । काठमाडौंको ट्राफिक व्यवस्थापनमा कोशेढुङ्गा मानिएको चक्रपथ विस्तार आयोजनाको दोस्रो चरणका लागि नेपाल र चीनबीच बुधबार औपचारिक सम्झौता भएको छ ।
सिंहदरबारमा आयोजित एक विशेष समारोहमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंगले सहायता सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । यस सम्झौतासँगै लामो समयदेखि प्रतिक्षामा रहेको कलंकीदेखि बसुन्धारासम्मको ८.२ किलोमिटर सडक खण्ड विस्तारको बाटो खुलेको छ, जसका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने निश्चित भएको छ ।
परियोजनाको कार्यान्वयनलाई लिएर मन्त्री लम्सालले निकै तदारुकता देखाउनुभएको छ । उहाँले निर्माणका क्रममा स्थानीय स्तरमा देखिन सक्ने मुआब्जा वा अन्य प्राविधिक समस्याहरूलाई ुएक दिनमै समाधान गर्नेु गरी सरकारले सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो ।
नेपालको उत्तर–दक्षिण जोड्ने व्यापारिक मार्गहरूको स्तरोन्नति सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै उहाँले पूर्वाधार विकासका अन्य क्षेत्रमा पनि चिनियाँ लगानी भित्रिने विश्वास व्यक्त गर्नुभयो । चिनियाँ राजदूत माओमिंगले नेपालमा लगानीको उपयुक्त र सुरक्षित वातावरण तयार भएमा अझ धेरै चिनियाँ लगानीकर्ताहरू पूर्वाधार र विकासका काममा हात हाल्न इच्छुक रहेको बताउनुभयो ।
सन् २०१९ मा कोटेश्वरदेखि कलंकीसम्मको पहिलो चरणको विस्तार सम्पन्न भएपछि यो दोस्रो चरणको आयोजनाले काठमाडौंको चक्रपथलाई आधुनिक र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ । सम्झौता अनुसार अब छिट्टै निर्माणको काम सुरु हुने र यसले राजधानीको यातायात आवागमनलाई थप सहज बनाउनेछ ।

















