Logo

१६ बैशाख, काठमाडौं । काठमाडौंको अपराध दुनियाँमा केही यस्ता पात्रहरू छन्, जसका लागि प्रहरी हिरासत र जेलको कोठा ‘गेस्ट हाउस’ जस्तै बनेको छ ।

तनहुँ ऋषिगंगाका ३९ वर्षीय सन्तोष रानाभाट ठ्याक्कै त्यस्तै पात्रका रूपमा उदाएका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई ३८औँ पटक पक्राउ गरेपछि उनको आपराधिक फेरिहस्तले सबैलाई चकित तुल्याएको छ । झन्डै २० वर्षको अन्तरालमा उनी जति पटक समातिए, उनको उमेर पनि अहिले ठ्याक्कै त्यति नै (३९ वर्ष) पुग्न लागेको छ ।

रानाभाटको चोरी गर्ने शैली निकै अनौठो छ। कुनै ठुलो ग्याङ वा समूहमा आबद्ध हुनुको साटो उनी ‘लोन उल्फ’ (एक्लै हिँड्ने) शैलीमा अपराध गर्छन् । उनी पैदलै हिँडेर टोल-टोल चहार्छन् र दिउँसोको समयमा घरमा कोही नभएको मौका छोपेर झ्याल-ढोका फोड्दै भित्र छिर्छन् ।

पछिल्लो पटक टोखाको जागरण टोलमा भएको चोरीको अनुसन्धान गर्दै जाँदा उनी प्रहरीको फन्दामा परेका हुन् । उनको साथबाट झन्डै १ केजी सुनका गहना, चाँदी, घडी र मोबाइल मात्र होइन, चोरीमा प्रयोग गरिने खुकुरी र रड समेत बरामद गरिएको छ ।

प्रहरीको रेकर्ड अनुसार रानाभाटको ‘क्राइम फाइल’ २०६१ सालदेखि सुरु भएको देखिन्छ । यी दुई दशकमा उनीमाथि २२ पटक अभद्र व्यवहार, १३ पटक चोरी, र लागुऔषध तथा हातहतियारका मुद्दा समेत दर्ता भइसकेका छन् ।

अचम्मको कुरा त के छ भने, उनलाई १७ पटक काठमाडौं र ६ पटक ललितपुर प्रहरीले समातिसकेको छ। कानुनी सजाय भुक्तान गरेर निस्किए लगत्तै फेरि पुरानै पेसामा फर्किने उनको ‘सिरियल’ प्रवृत्तिले प्रहरीलाई समेत हैरानी बनाएको छ ।

अहिले उनी पुनः हिरासतमा छन्, तर ३७ पटकको अनुभव बोकेका यी पेसेवर चोरका लागि यो ३८औँ पक्राउ पनि केवल एउटा अर्को ‘नियमित प्रक्रिया’ जस्तै देखिएको छ ।


सम्बन्धित समाचार