Logo

१६ वैशाख,वीरगञ्ज । बदलिँदो मौसमसँगै हावाहुरी, आगलागी तथा चट्याङका घटना बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय पर्साले व्यापक सचेतना अभियान सुरु गरेको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले विशेष सूचना जारी गरेपछि प्रहरी सक्रिय भएको हो। कार्यालयले आफ्ना ६४ वटा युनिटमार्फत ग्रामीण तथा शहरी क्षेत्रमा माइकिङ गर्दै सर्वसाधारणलाई सम्भावित जोखिमबारे जानकारी गराइरहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदिप राज पाठकको निर्देशनमा विभिन्न गाउँ बस्तीमा हावाहुरी र चट्याङबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

महाशाखाले आज बिहान ८ बजे जारी गरेको विशेष बुलेटिनअनुसार आज अपराह्न ४ बजेदेखि देशका विभिन्न भागमा तीव्र हावाहुरी सुरु भई भोलि बिहान ६:४५ बजेसम्म जारी रहने पूर्वानुमान गरिएको छ। उक्त प्रणालीको प्रभाव विशेषगरी मधेश प्रदेशका बारा, पर्सा र धनुषा जिल्लासहित सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, डडेलधुरा र डोटी क्षेत्रमा पर्ने सम्भावना रहेको छ।

प्रहरीले सर्वसाधारणलाई सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा बस्न, खुला ठाउँमा नबस्न, र आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। साथै आकस्मिक अवस्थामा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत आग्रह गरिएको छ।


सम्बन्धित समाचार