Logo

१६ बैशाख, काठमाडौं । गर्मीको समयमा शरीरलाई शीतलता दिने अमृत समान फल खरबुजा (तरबुजा) कहिलेकाहीँ असावधानी र अखाद्य रसायनका कारण ज्यानमारा बन्न सक्छ ।

विशेषगरी फललाई आकर्षक देखाउन र छिटो पकाउन प्रयोग गरिने ‘अक्सिटोसिन’ र ‘एरिथ्रोसिन’ जस्ता घातक रसायनले गम्भीर खाद्य विषाक्तता मात्र होइन, दीर्घकालमा क्यान्सर र हर्मोन सम्बन्धी समस्या समेत निम्त्याउन सक्छन् ।

खरबुजा खरिद गर्दा सधैँ माटोमा बसेको भागमा पहेँलो दाग भएको छान्नुपर्छ, जुन प्राकृतिक रूपमा पाकेको सङ्केत हो । यदि फल काटेर पानीमा राख्दा पानी तुरुन्तै रातो भयो वा बोक्राको भित्री सतहसम्मै गाढा रातो देखियो भने त्यसमा कृत्रिम रङ्गको मिसावट भएको बुझ्नुपर्छ ।

साथै, जमिनमा फल्ने भएकाले यसको बोक्रामा हानिकारक ब्याक्टेरिया हुन सक्ने हुँदा काट्नुअघि १५ मिनेटसम्म पानीमा डुबाएर राम्ररी धुनु र काटेको २४ घण्टाभित्र खाइसक्नु स्वास्थ्यका लागि अनिवार्य मानिन्छ ।

यस्तै लापरबाही र विषाक्त मिसावटको एउटा भयावह उदाहरण भारतको मुम्बईमा देखिएको छ, जहाँ खरबुजा सेवन गरेकै कारण एकै परिवारका चार सदस्यको दुःखद मृत्यु भएको छ । साँझको खानापछि खरबुजा खाएका उनीहरूमा केही घण्टामै कडा बान्ता र पखाला सुरु भएको र अस्पताल पुर्‍याउँदा पुर्‍याउँदै ज्यान गएको थियो ।

यो घटनाले बजारमा पाइने रहरलाग्दा देखिने फलफूल कति घातक हुन सक्छन् र उपभोक्ताले छनोटमा कति ध्यान दिनुपर्छ भन्ने गम्भीर पाठ सिकाएको छ । सडक किनारमा काटेर राखिएका र रसायनिक सुई प्रयोग गरिएका फलफूलको प्रयोग नगर्दा नै यस्ता सम्भावित दुर्घटनाबाट जोगिन सकिन्छ ।


सम्बन्धित समाचार