१६ वैशाख,वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो नौ महिनामा रु २६ अर्ब १३ करोड मूल्य बराबरका सवारीसाधन र पार्टपुर्जा आयात भएका छन्। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.१९ प्रतिशत अर्थात् रु ६ अर्ब ९४ करोडले बढी हो।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आर्थिक वर्षको नौ महिनामा रु १९ अर्ब १९ करोड मूल्यका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका थिए।
चालु आवको अवधिमा सवारीसाधन पार्टपुर्जाबाट मात्रै रु १८ अर्ब २२ करोड राजस्व सङ्कलन भएको छ, जुन गत वर्षको सोही अवधिको रु १४ अर्ब ८४ करोडको तुलनामा उल्लेख्य वृद्धि हो।
त्यसैगरी, इन्धनबाट चल्ने सवारीसाधनको आयातमा भने केही गिरावट देखिएको छ। चालु आवको नौ महिनामा ५९१ वटा जीप, कार र भ्यान आयात हुँदा यसको मूल्य रु १ अर्ब १७ करोड रहेको छ। गत वर्ष सोही अवधिमा ८०५ वटा सवारीसाधन आयात भई रु १ अर्ब ६६ करोड मूल्यको कारोबार भएको थियो।
मोटरसाइकल (अन एसेम्बल्ड) आयातमा भने वृद्धि देखिएको छ। चालु आवमा ४५ हजार ६२० वटा मोटरसाइकल आयात भई रु ६ अर्ब ४२ करोडको कारोबार भएको छ, जबकि गत वर्ष ३५ हजार ७९९ वटा मोटरसाइकल आयात भई रु ४ अर्ब ६७ करोडको आयात भएको थियो।
ट्याक्टर तथा टिलरको आयात पनि बढेको छ। चालु आवमा २१ हजार ६३९ वटा आयात हुँदा रु २ अर्ब ४ करोड मूल्य बराबरको कारोबार भएको छ। गत वर्ष भने १३ हजार ८६१ वटा मात्र आयात भएका थिए।
विद्युतीय सवारीसाधनको आयात उल्लेख्य रूपमा वृद्धि भएको छ। चालु आवको नौ महिनामा रु २ अर्ब ९८ करोड मूल्यका विद्युतीय सवारी भित्रिएका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा १०२ प्रतिशत वृद्धि हो।
विद्युतीय जीप, कार र भ्यानको संख्या पनि बढ्दै गएको छ। चालु आवमा ४९३ वटा आयात भई रु १ अर्ब ४६ करोडको कारोबार भएको छ भने गत वर्ष १७२ वटा मात्र आयात भई रु ४८ करोडको कारोबार भएको थियो।



















