१७ वैशाख,वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ का सांसद हरी पन्त सवार गाडी बारा जिल्लामा दुर्घटनामा परेको छ।
बुधबार बेलुकी करिब ४ बजे वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको बा.१६ च ८२०६ नम्बरको कार जीतपुर सिमरा–७ स्थित गढीमाई मन्दिर नजिकै विपरीत दिशाबाट आएको मधेश प्रदेश ०३–०३४ प १८७४ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक कलैया–७ निवासी २० वर्षीय नवलकिशोर यादव र पछाडि सवार कलैया–१३ निवासी १७ वर्षीय जितेन्द्र यादव घाइते भएका छन्। कार चालक वीरगञ्ज महानगरपालिका–११ निवासी ५२ वर्षीय मोहनलाल राउत रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूलाई सांसद पन्तले आफ्नै गाडीमार्फत सिमरास्थित अस्पतालमा पुर्याएका थिए। घाइतेमध्ये एक जना सामान्य उपचारपछि घर फर्किएको छ भने अर्का एक जनाको उपचार भइरहेको छ।
दुर्घटनामा कारको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने मोटरसाइकलमा पनि क्षति पुगेको छ। सांसद पन्त भने सकुशल रहेका छन्।
प्रहरीका अनुसार मोटरसाइकल चालकसँग सहमति भएपछि सांसद पन्तले आफ्नो गाडी जिम्मामा लिएर गएका छन् भने मोटरसाइकल जीतपुर प्रहरी चौकीको निगरानीमा राखिएको छ।



















