१७ बैशाख, काठमाडौँ । कक्षा १२ को सञ्चालित परीक्षाका क्रममा विभिन्न परीक्षा केन्द्रहरूमा व्यवस्थापकीय कमजोरी र लापरबाही देखिएको भन्दै नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले सुधारको माग राखेर राष्ट्रिय परीक्षा बोर्डमा ज्ञापनपत्र बुझाएको छ ।
सङ्घका कार्यवाहक अध्यक्ष नवीन पौडेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार भक्तपुरको सानोठिमीस्थित बोर्ड कार्यालय पुगी महाशाखा प्रमुख एवं प्रवक्ता जयन्ती सत्याललाई ध्यानाकर्षण पत्र बुझाएको हो । परीक्षा जस्तो संवेदनशील विषयमा जिम्मेवार निकायबाट भएको गैरजिम्मेवारपूर्ण गतिविधिले विद्यार्थीको भविष्यमाथि खेलबाड भएको नेविसंघको ठहर छ ।
विशेष गरी चितवनको इन्टरनेशनल कलेज परीक्षा केन्द्रमा भएको घटनालाई नेविसंघले प्रमुखताका साथ उठाएको छ । त्यहाँ नेपाली विषयको परीक्षाका क्रममा सुनगाभा कलेजका परीक्षार्थीहरूमाथि अन्यायपूर्ण व्यवहार भएको ज्ञापनपत्रमा उल्लेख छ ।
प्रश्नपत्र छपाइमा भएको ढिलाइका कारण बिहान ८ः३१ बजे मात्र परीक्षा सुरु गरिएको भए तापनि, निर्धारित तीन घण्टाको समय उपलब्ध नगराई बिहान ११ः१३ बजे नै उत्तरपुस्तिका संकलन गरिएको पाइएको छ । नियमानुसार पाउनुपर्ने समयभन्दा १७ मिनेट अगावै कापी खोसिएका कारण विद्यार्थीहरूले आफ्नो पूर्ण क्षमता प्रदर्शन गर्न नपाएको भन्दै सङ्घले कडा आपत्ति जनाएको छ ।
नेविसंघले यस घटनालाई विद्यार्थीको मौलिक शैक्षिक अधिकारमाथिको प्रत्यक्ष प्रहारका रूपमा व्याख्या गर्दै दोषी कर्मचारी एवं पदाधिकारीमाथि तत्काल कडा कारबाही गर्न माग गरेको छ ।
पीडित विद्यार्थीहरूलाई उचित न्याय दिलाउन र आगामी दिनमा यस्ता प्राविधिक तथा व्यवस्थापकीय त्रुटि दोहोरिन नदिन बोर्डलाई सचेत गराइएको छ । प्रश्नपत्र वितरणको ढिलाइ अन्त्य गर्न, अनुगमन प्रणालीलाई चुस्त बनाउन र परीक्षा केन्द्रहरूमा पारदर्शिता सुनिश्चित गर्न नेविसंघले जोडदार माग गरेको छ ।
बोर्डले आफ्ना कमजोरी सुधार नगरे थप दबाबमूलक कार्यक्रम सार्वजनिक गर्ने सङ्घले चेतावनी समेत दिएको छ ।
नेविसंघले यस घटनालाई विद्यार्थीको मौलिक शैक्षिक अधिकारमाथिको प्रत्यक्ष प्रहारका रूपमा व्याख्या गर्दै दोषी कर्मचारी एवं पदाधिकारीमाथि तत्काल कडा कारबाही गर्न माग गरेको छ । पीडित विद्यार्थीहरूलाई उचित न्याय दिलाउन र आगामी दिनमा यस्ता प्राविधिक तथा व्यवस्थापकीय त्रुटि दोहोरिन नदिन बोर्डलाई सचेत गराइएको छ ।
प्रश्नपत्र वितरणको ढिलाइ अन्त्य गर्न, अनुगमन प्रणालीलाई चुस्त बनाउन र परीक्षा केन्द्रहरूमा पारदर्शिता सुनिश्चित गर्न नेविसंघले जोडदार माग गरेको छ । बोर्डले आफ्ना कमजोरी सुधार नगरे थप दबाबमूलक कार्यक्रम सार्वजनिक गर्ने सङ्घले चेतावनी समेत दिएको छ ।

















