१७ बैशाख, काठमाडौं । वैशाख पूर्णिमाको अवसरमा जलजला क्षेत्रमा लाग्ने जात्रामा पूजा गर्न हिँडेका तीर्थयात्री सवार जीप रोल्पामा भीषण दुर्घटनामा परेको छ ।
रुकुम पूर्वबाट तीर्थयात्री बोकेर जलजलातर्फ जाँदै गरेको जीप बिहीबार (वैशाख १७ गते) थवाङ गाउँपालिका–१ स्थित सडकखण्डबाट करिब ८०० मिटर तल भीरमा खसेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
दुर्घटनामा परी १६ जना घाइते भएका छन्, जसमध्ये १५ जनाको अवस्था अत्यन्तै गम्भीर रहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । रोल्पाका प्रहरी निरीक्षक सुनील थापाका अनुसार जीपमा कति जना सवार थिए भन्ने यकिन विवरण अझै आउन बाँकी छ ।
अहिले घटनास्थलमा प्रहरी र स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार कार्य तीव्र रूपमा भइरहेको छ । पहाडी र अप्ठ्यारो भूगोलका कारण उद्धार कार्यमा केही चुनौती देखिएको भए पनि घाइतेहरूलाई अस्पताल पठाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

















