Logo

१७ बैशाख, काठमाडौं ।  रोल्पाको थवाङमा भएको विभत्स बोलेरो दुर्घटनाले यतिबेला सिङ्गो देशलाई स्तब्ध बनाएको छ ।

वैशाख पूर्णिमाको अवसरमा लाग्ने प्रसिद्ध जलजला मेला भर्नका लागि रुकुम पूर्वबाट निकै उत्साहका साथ हिँडेका यात्रुहरू गन्तव्यमा पुग्नै लाग्दा ठूलो बज्रपात आइलाग्यो। थवाङ गाउँपालिका–१ स्थित अप्ठ्यारो भिरबाट लु १ ज ४१६७ नम्बरको बोलेरो अनियन्त्रित भई करिब आठ सय मिटर तल खस्दा मेलाको खुसीयाली क्षणभरमै रोदन र चित्कारमा बदलिएको छ।

प्रहरीको पछिल्लो अपडेट अनुसार यस हृदयविदारक घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ, जसमध्ये १७ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने थप तीन जनाले उपचार वा उद्धारका क्रममा ज्यान गुमाएका हुन्। विकट भौगोलिक बनावट र सञ्चार सञ्जालको कमजोर पहुँचका कारण घटनाको विस्तृत विवरण र मृतकहरूको पहिचान संकलनमा केही ढिलाइ भए तापनि घटनास्थलमा प्रहरी टोलीले स्थानीयको सहयोगमा निरन्तर उद्धार कार्य जारी राखेको छ।

पर्व र मेलाको उल्लास बोकेर हिँडेका सर्वसाधारणको यसरी अकल्पनीय अन्त्य हुनुले पहाडी भेगको सडक सुरक्षा र क्षमताभन्दा बढी भार बोक्ने सवारी साधनको जोखिमलाई पुनः एकपटक सतहमा ल्याइदिएको छ ।

जलजलाको टाकुरामा पुगेर देउता पुज्ने र खुसी साट्ने सपना बोकेका ती निर्दोष यात्रुहरू सडकबाट सयौँ मिटर तल खसेर अस्ताएपछि अहिले रोल्पा र रुकुमका बस्तीहरू शोकमा डुबेका छन्। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ र सञ्चार सम्पर्क सहज हुनासाथ पूर्ण विवरण सार्वजनिक गर्ने तयारी गरेको छ।


सम्बन्धित समाचार