१८ बैशाख, वीरगञ्ज । वीरगञ्जको ड्राइपोर्ट–परवानीपुर सडकखण्ड अहिले कोइलाको कालो धुलोले ‘ग्यास च्याम्बर’ जस्तै बनेको छ । अव्यवस्थित रूपमा सञ्चालित करिब १० वटा कोइला डिपोले ओगटेको उक्त क्षेत्रमा स्थानीय बासिन्दाहरू प्रदूषणको मारमा परेका छन् । लामो समयदेखि स्थानीयले पटक–पटक गुनासो गर्दा पनि सम्बन्धित निकायको मौनताले गर्दा जनस्वास्थ्यमाथि नै गम्भीर खेलबाड भइरहेको छ ।
ड्राइपोर्ट चोकदेखि परवानीपुर प्रहरी चौकीसम्म फैलिएका डिपोहरूबाट उड्ने कालो धुलोले आसपासका बस्तीहरू नै ढाकिएका छन् । “निरन्तरको धुलोले सास फेर्नै कठिन भएको छ, दैनिक जीवन कष्टकर बनेको छ,” वीरगञ्ज महानगरपालिका–१०, अपौनीका बिक्की सिंहले आफ्नो पीडा पोखे । धुलो केवल हावामा मात्र सीमित छैन; खाद्यान्न, तरकारी, फलफूल र पिउने पानीमा समेत कोइलाको कालो कण मिसिँदा खाद्य सुरक्षामा ठूलो चुनौती थपिएको छ ।
परवानीपुर चोकमा होटल सञ्चालन गर्दै आएकी शर्मिला आचार्यको समस्या अझ दर्दनाक छ । “होटलको भित्रसम्म कोइलाको धुलो पस्छ, ग्राहकहरू खाना नै नखाई फर्किन्छन्,” उनले भनिन्, “व्यवसाय चलाउनै नसक्ने अवस्था सिर्जना भइसकेको छ ।” स्थानीय माछामासु र किराना पसलहरूमा पनि उत्तिकै असर परेको छ, जसले गर्दा स्थानीय अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव देखिएको छ ।
विगतमा भारतको रक्सौल रेलवे यार्डमा हुँदै आएको कोइला अनलोड अहिले सिधै वीरगञ्जस्थित सुक्खा बन्दरगाह (ड्राइपोर्ट) मा हुन थालेपछि समस्या चुलिएको हो । परवानीपुर क्षेत्रमा रहेका मोनालिसा कोइला सप्लायर्स, मुर्तामाई ढुवानी सेवा र सबुरी कोल ट्रेडिङलगायतका कम्पनीहरूले मापदण्डविपरीत डिपो सञ्चालन गरिरहेका छन् । हरपतगन्ज, जगरनाथपुर र लालपर्सा क्षेत्रमा पनि यस्तै अव्यवस्थित भण्डारणको जालो फैलिएको छ ।
अव्यवस्था स्वीकार गर्दै भगवती लोजिस्टिक ढुवानी सेवाका सञ्चालक रजत सचदेवा क्षेत्रीले छिट्टै व्यवस्थापनमा सुधार गर्ने आश्वासन दिएका छन् । यता, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले मापदण्ड मिचेर सञ्चालनमा रहेका डिपोहरूलाई तत्काल व्यवस्थित गर्न निर्देशन दिइसकेको बताएका छन् । “मापदण्डविपरीत चल्ने कुनै पनि डिपो छुट पाउने छैनन्, कानुनबमोजिम कडा कारबाही हुन्छ,” प्रजिअ दाहालले स्पष्ट पारे ।

















