१८ बैशाख, काठमाडौँ । एकातिर मुलुकभर २५७० औँ बुद्ध जयन्तीको उल्लास छाएको थियो भने अर्कोतिर राजधानीको बल्खु क्षेत्रमा भने अर्कै दृश्य देखियो ।
काठमाडौँ महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण विरुद्धको आफ्नो अभियानलाई निरन्तरता दिँदै बुद्ध जयन्तीकै दिन पारेर बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बामा डोजर चलाएको छ । शुक्रबार बिहानैदेखि सुरु भएको महानगरको यस कदमले स्थानीय र धार्मिक समुदायका बीचमा मिश्रित प्रतिक्रिया उब्जाएको छ ।
महानगरको नगर प्रहरी टोली डोजरसहित पुगेपछि गुम्बा परिसरमा केही बेर तनावपूर्ण स्थिति सिर्जना भएको थियो । २०७८ साल कात्तिक १३ गते दर्ता भएको यस गुम्बालाई सार्वजनिक जग्गा मिचेर निर्माण गरिएको भन्दै महानगरले भत्काउने निर्णय गरेको हो ।
तर, धार्मिक आस्थासँग जोडिएको संरचना भएकाले भत्काउनुअघि संवेदनशीलता अपनाउँदै भित्र रहेका बुद्धका मूर्ति र अन्य धार्मिक महत्त्वका सामग्रीहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो । ती सामग्रीहरू बाहिर निकालेलगत्तै महानगरका डोजरहरूले गुम्बाको संरचनालाई पूर्ण रूपमा ध्वस्त पारेका हुन् ।
काठमाडौँ महानगरपालिकाले पछिल्लो समय सार्वजनिक जग्गा संरक्षण र अतिक्रमण हटाउने कार्यलाई तीव्रता दिइरहेको छ । सोही क्रममा शुक्रबार बल्खुसहित टेकु नजिकैको वंशीघाट र बालाजु लगायतका स्थानमा बनाइएका अवैध घर(टहराहरू पनि भत्काइएका छन् ।
महानगरले कानुन विपरीत बनेका कुनै पनि संरचनालाई नछोड्ने नीति लिएको स्पष्ट पारे पनि, बुद्ध जयन्ती जस्तो पवित्र दिनमै गुम्बा भत्काइएको भन्दै केही स्थानीयले भने समय छनोटप्रति असन्तुष्टि व्यक्त गरेका छन् । यतिबेला सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ र अतिक्रमित क्षेत्र खाली गर्ने कार्य जारी छ।

















