१८ वैशाख, काठमाडौं । नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी विशेष दूत सर्जियो गोरले शुक्रबार परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटका क्रममा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने तथा आपसी हितका विविध पक्षमा छलफल भएको छ ।
मन्त्रालयका अनुसार विशेष दूत गोरले विशेषगरी नेपालमा अमेरिकी लगानी भित्र्याउने र दुई देशबीचको व्यापार प्रवर्द्धन गर्ने विषयलाई प्राथमिकताका साथ उठाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर ६ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार काठमाडौँ आइपुगेका हुन् ।
तीन दिने भ्रमणका क्रममा उनले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग पनि भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । फागुन २१ को निर्वाचनपछि बनेको नयाँ सरकारको कार्यकालमा नेपाल आउने उनी विशिष्ट अमेरिकी कूटनीतिज्ञ हुन् ।
यसअघि गत २० अप्रिलमा अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुरले पनि नेपालको भ्रमण गरिसकेका छन् । भेटका अवसरमा परराष्ट्रमन्त्री खनाल र विशेष दूत गोरबीच जलवायु परिवर्तन, आर्थिक विकास र क्षेत्रीय सुरक्षाका साझा चासोका विषयमा समेत संक्षिप्त कुराकानी भएको छ ।
यस भ्रमणलाई नेपाल र अमेरिकाबीचको कुटनीतिक सम्बन्धमा नयाँ इँटा थप्ने र आर्थिक साझेदारीलाई विस्तार गर्ने कडीका रूपमा हेरिएको छ ।

















