१९ बैशाख, काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले सुकुम्बासी बस्ती हटाउने नाममा सरकारले अपनाएको पछिल्लो कदमलाई ‘निर्मम र दमनकारी’ भन्दै त्यसको कडा आलोचना गरेको छ। संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सुकुम्बासी व्यवस्थापनका नाममा भइरहेको अमानवीय गतिविधि तत्काल रोक्न सरकारलाई चेतावनी दिएका छन्।
बस्ती हटाउने क्रममा सेनासहितको सुरक्षा निकाय परिचालन गरिएकोप्रति आपत्ति जनाउँदै नेता आङ्देम्बेले राज्यले आफ्नै नागरिकमाथि युद्धको शैलीमा आक्रमण गरेको आरोप लगाए। उनले भने, “के राज्य आफ्नै नागरिकसँग युद्ध लड्दैछ? यदि होइन भने सुकुम्बासी व्यवस्थापनको नाममा किन यस्तो निर्दयी व्यवहार भइरहेको छ?” वास्तविक सुकुम्बासीको पहिचान नगरी बलपूर्वक गरिएको उठिबासले राज्यलाई संरक्षकको साटो ‘त्रासको प्रतीक’ का रूपमा चित्रण गरेको उनको दाबी छ।
पछिल्ला दिनमा मनोहरा बस्तीका एक किशोर र बल्खुको बागमती किनारमा एक वृद्धले गरेको आत्महत्याको घटनाले राज्यको नीतिगत क्रूरताको पराकाष्ठा नाघेको आङ्देम्बेले उल्लेख गरे। उनले मृतकका परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। कीर्तिपुरको होल्डिङ सेन्टरमा रहेका सुत्केरी, ज्येष्ठ नागरिक र असहायहरूको मानवीय व्यवस्थापनका साथै बिरामीहरूलाई निःशुल्क उपचारको प्रबन्ध मिलाउन उनले जोड दिएका छन्।
प्रमुख जिल्ला अधिकारी (सिडिओ) मार्फत स्थानीय तहलाई बस्ती हटाउन निर्देशन दिने र सुकुम्बासीको लगत सङ्कलनमा सेना परिचालन गर्ने सरकारी शैलीलाई उनले ‘लोकतान्त्रिक मूल्य-मान्यता विपरीतको गलत अभ्यास’ भनेका छन्। जनमतको अपमान गर्दै जनतालाई उठिबास लगाउने काम लोकतन्त्रमा स्वीकार्य नहुने भन्दै उनले यस्तो क्रूर व्यवहारको परिणाम गम्भीर हुने चेतावनी दिए।
कांग्रेस संसदीय दलले उक्त कदमको घोर भर्त्सना गर्दै मानवीय संवेदनालाई ख्याल गरी बल प्रयोगको नीति तत्काल सच्याउन सरकारलाई ध्यानाकर्षण गराएको छ। सुकुम्बासी समस्याको दीर्घकालीन र व्यवस्थित समाधान खोज्नुको सट्टा डोजर र सुरक्षा बलको प्रयोगले राज्यलाई थप आलोचित बनाएको भन्दै कांग्रेसले सरकारलाई तत्काल हस्तक्षेप रोक्न आग्रह गरेको छ।

















