१९ बैशाख, वीरगञ्ज । वीरगञ्जस्थित सामाजिक तथा व्यावसायिक संस्था ‘रिलिफ सोसाइटी अफ कमर्स’ ले आफ्नो ३५औँ स्थापना दिवस तथा बुद्ध पूर्णिमाको पावन अवसर पारेर समाजका चार विशिष्ट व्यक्तित्वलाई सम्मान गरेको छ ।
आदर्शनगरस्थित सोसाइटीको आफ्नै भवनमा आयोजित विशेष समारोहमा विभिन्न क्षेत्रमा रही समाजमा सकारात्मक परिवर्तनका लागि दीर्घकालीन योगदान पुर्याउने स्रष्टा तथा साधकहरूलाई सम्मानपत्रसहित अभिनन्दन गरिएको हो ।
सोसाइटीले उद्यमशीलतामार्फत महिला उद्यमीहरूका लागि प्रेरणाको स्रोत बनेकी कमला घिमिरे, खेलकुद र गायन दुवै विधामा सक्रिय अशोक प्रधान, शिक्षा क्षेत्रमा लामो समयदेखि समर्पित श्याम बिकेश महतो र साहित्य सिर्जनामा क्रियाशील विनयराज गौतमलाई सम्मान गरेको हो । कार्यक्रमका वक्ताहरूले समाजको चौतर्फी विकासमा सक्रिय यी व्यक्तित्वहरूको सम्मानले आगामी पुस्तालाई समेत राष्ट्रसेवा र सिर्जनात्मक कार्यमा लाग्न थप हौसला मिल्ने विश्वास व्यक्त गरे ।
संस्थाका अध्यक्ष योगेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका निवर्तमान अध्यक्ष एवं केन्द्रीय कार्यसमिति सदस्य अशोक टेमानी, वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपाल र गणेश लाठलगायतका विशिष्ट अतिथिहरूको उपस्थिति थियो ।
अतिथिहरूले विगत ३५ वर्षदेखि व्यावसायिक हकहित र सामाजिक उत्तरदायित्वमा सोसाइटीले खेलेको भूमिकाको उच्च प्रशंसा गरे । सम्मान कार्यक्रमले केवल व्यक्तिको कदर गरेको नभई वीरगञ्जको सामाजिक सद्भाव र बौद्धिक उन्नयनमा समेत टेवा पुर्याएको भन्दै सहभागीहरूले सोसाइटीको आगामी यात्रा अझ सफल हुने कामना व्यक्त गरेका थिए ।

















