१९ बैशाख, काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सुकुम्बासी बस्ती तथा अतिक्रमित संरचना हटाउने नाममा सरकारले अपनाएको शैलीको कडा शब्दमा भर्त्सना गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै अध्यक्ष लिङ्देनले राज्यले विकासको नाममा मानवीय संवेदना र धार्मिक आस्थालाई बेवास्ता गरेको आरोप लगाएका छन् ।
अध्यक्ष लिङ्देनले सार्वजनिक जग्गा खाली गर्ने प्रक्रियामा सरकारले देखाएको हतारोप्रति आपत्ति जनाउँदै भने, “मानिसको सम्पत्ति खोसिनुभन्दा आस्थामाथिको आक्रमण बढी खतरनाक हुन्छ।” बुद्ध जयन्तीजस्तो पवित्र दिनमा समेत बौद्ध गुम्बा भत्काइनु र मन्दिर तथा विद्यालयहरूलाई निशाना बनाइनु कुनै पनि कोणबाट उचित नभएको उनको भनाइ छ। “मन्दिर, स्कुल र गुम्बाहरू सार्वजनिक स्थलमै हुनु स्वभाविक हो, यसतर्फ सरकारको हेक्का नहुनु दुःखद छ,” उनले लेखेका छन् ।
सरकारको पछिल्लो कदमलाई ‘अपूरो गृहकार्य’ को संज्ञा दिँदै उनले विकासको अर्थ र उद्देश्यमाथि प्रश्न उठाएका छन्। “विकास जीवनका लागि हुनुपर्छ, जीवन विकासका लागि होइन,” उनले भनेका छन्, “कसैले आफ्नो बासस्थान उजाडिएको टुलुटुलु हेर्न नसकेर जीवन नै समाप्त गर्नुपर्ने अवस्था आउनु राज्यको असफलता हो।”
अध्यक्ष लिङ्देनले इतिहास, धर्म र परम्परालाई संरक्षण गर्दै अघि बढिने विकास मात्र दिगो र स्थिर हुने तर्क गरेका छन्। उनले सरकारलाई हतारोमा निर्णय लिने र बल प्रयोग गर्ने नीति त्यागेर संवेदनशीलता अपनाउन आग्रह गरेका छन् ।
सुकुम्बासी व्यवस्थापनका नाममा भइरहेको यो ‘दमनकारी’ शैलीले समाजमा थप असुरक्षा र निराशा पैदा गरेको भन्दै राप्रपाले सरकारलाई तत्काल संयम अपनाउन र विवेकपूर्ण कदम चाल्न चेतावनी दिएको छ । बस्ती व्यवस्थापनको नाममा भइरहेका यी घटनाहरूले राजनीतिक वृत्तमा समेत तरंग पैदा गरेको छ ।

















